newskoseli.Com

६.२ रेक्टर स्केलको भूकम्प : ११ को मृत्यु, २४ बेपत्ता

मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न फेरि ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ समेत ५.७ म्याग्निच्युडको भूकम्प गएको थियाे ।

भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिव १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिव १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । भूकम्पबाट भएको क्षतिको समग्र विवरण प्राप्त भइसकेको छैन ।

यसैबीच, सोमबारको भूकम्पबाट मृत्यु हुनेको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ । राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक सहरमा भवनहरु र अरु संरचना भत्किएका छन् । उक्त सहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन् । भूकम्पको परकम्प ४ सय पटकभन्दा बढी अनुभव गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्भेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिव ४ करोड ९० लाख मानिस प्रभावित भएका छन् । राजधानी मनिलामा समेत धक्का महसुस हुने गरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५.७ म्याग्निच्युडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

सहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताएका छन् । साँझको समयमा आएको भूकम्पका कारण सहरी क्षेत्रमा विद्युत् सेवा अवरूद्ध हुँदा कतिपय स्थानमा उद्धार कार्य समेत प्रभावित भएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर