newskoseli.Com

अपदस्थ राष्ट्रपति आफैं पुगे कारागार, जहाँ भर्खरैसम्म उनले विपक्षीहरूलाई थुन्थे !

सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बशिरलाई कारागार चलान गरिएको छ । उनलाई राजधानी खर्तुममा रहेको कारागारमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘गएरातिदेखि बशिरलाई राजधानी खर्तुममा रहेको कोबर कारागारमा लगिएको छ’– सुरक्षाका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बुधबार भन्यो । गत बिहीबार सेनाले बशिरलाई अपदस्थ गरेको थियो । झन्डै चार महिनादेखि जारी आन्दोलनको आडमा सेनाले ३० वर्षदेखि शासन गरिरहेका बशिरलाई अपदस्थ गरेको हो । उनलाई अपदस्थ गरेर सैन्य नेतृत्वले सैन्य परिषद् गठन गरी त्यसैमार्फत् शासन चलाउने घोषणा गरेको छ ।

राजधानीको उत्तरी क्षेत्रमा रहेको कारागार बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । कारागार बाहिर खटाइएका सुरक्षाकर्मीहरुलाई ठूलठूला हातहतियार, सवारी साधनलगायत उपलब्ध गराइएको छ । बशिरलाई राखिएको कारागार बेलायती शासकहरुले बनाइदिएका हुन् । सुडानलाई उपनिवेश बनाएका बेला बनाइएको कारागार क्षेत्रमै बशिर हुर्किएका थिए ।

सो कारगारलाई पहिले–पहिले ‘कोबर’ नामकरण गरिएकोमा पछि बशिरले ‘ओमर अल मुख्तर’ नामकरण गरेका थिए । कारागार निकै ठूलो पर्खालले घेरिएको छ । बशिरलाई राखिएको कारगारामा अरु पनि थुप्रै राजनीतिक व्यक्तिहरुलाई राखिएको थियो । चार महिनायता भएका आन्दोलनका क्रममा बशिरले नै धेरै नेताहरुलाई यस कारागारमा राख्न लगाएका थिए, जहाँ अहिले आफैं बन्दी जीवन बिताउन पुगेका छन् ।

पाउरोटीको मूल्यबृद्धि फिर्ता गर्नुपर्ने मागबाट सुरु भएको आन्दोलन चर्किंदै र हिंसात्मक हुँदै गएपछि अहिले ३० वर्षदेखिको शासकलाई कारागार पुर्‍याउनेसम्मको स्थिति आइपुगेको छ । आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका बेला सेनाले उनलाई पदमुक्त गरेपछि पनि आन्दोलन भने रोकिएको छैन ।

आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु स्वागतयोग्य भए पनि सेनाले नै शासन लिनु भने ठीक नभएको भन्दै नागरिक सरकार बनाउन माग गरेका छन् । सुडानका विपक्षी पार्टीहरु, नागरिक अगुवा र कतिपय अन्तर्राष्ट्रिय निकायहरुले नागरिक सरकार गठन गर्नका लागि दबाव दिइरहेका छन् । केही दिन अगाडि गठन भएको अन्तरिम सैन्य परिषदलाई नागरिक सरकारमा परिणत गर्न उनीहरुले माग गर्दै आएका छन् । तर, शासन हातमा लिएका सैन्य अधिकारीहरुले भने अहिलेसम्म सत्ता सहजै हस्तान्तरण गर्ने संकेत नगरेकाले आन्दोलन चर्किंदै गएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर