newskoseli.Com

प्रधानमन्त्रीको टाउकामा अण्डाको झटारो ! २५ वर्षीया युवती कर्‍याप्प

अष्ट्रेलियामा डेढ सातापछि हुने आम चुनावको अभियानमा खटिएका प्रधानमन्त्री स्कट मरिसनको टाउकामा अण्डाको झटारो हानिएको छ ।

चुनावी अभियानका क्रममा न्यु साउथ वेल्सस्थित अल्बारी भन्ने ठाउँमा पुगेका मरिसनले महिलासँग कुरा गरिरहेका बेला एक युवतीले उनको टाउकामा अण्डाको झटारो हानेकी हुन् । १८ मे, २०१९ मा अष्ट्रेलियामा आम चुनाव हुँदैछ ।

विभिन्न सञ्चार माध्यमहरुले प्रशारित गरेको भिडियोमा देखिए अनुसार प्रधानमन्त्री मरिसनलाई प्रहार गरिएको अण्डा नफुटिकनै उछिट्टिएको थियो । प्रहारलगत्तै भुइँमा खसेको अण्डालाई घटनास्थलमा झुम्मिइरहेका पत्रकारहरुले टिपेर नफुटेकै अवस्थामा सबैलाई देखाइदिएका थिए ।

प्रधानमन्त्रीलाई अण्डाले झटारो हान्ने २५ वर्षीया युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यु साउथ वेल्स प्रहरीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि आक्रमण गर्ने महिलालाई आफूहरुले नियन्त्रणमा लिएको जनाएको छ ।

‘अल्बरी काउन्टिस्थित महिला संघको कार्यक्रममा प्रधानमन्त्रीको टाउकामा अण्डा प्रहार गर्ने महिलालाई प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका छन्’– प्रहरी प्रवक्ताले भने । प्रधानमन्त्रीमाथि अण्डा प्रहार गरेलगत्तै प्रहरीको सुरक्षा टोलीले युवतीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मानुस द्वीपका शरणार्थीबारे गलत सरकारी नीतिको विरोधमा आफूले प्रधानमन्त्रीमाथि अण्डा प्रहार गरेको दावी युवतीले गरेकी छन् । आफूमाथि गरिएको आक्रमणलाई प्रधानमन्त्रीले भने ‘कायरता’ को संज्ञा दिएका छन् । आफूमाथि आक्रमण गर्ने युवतीलाई तत्काल नियन्त्रणमा लिएको भन्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीप्रति खुशी व्यक्त गरे ।

ती युवतीले प्रधानमन्त्रीमाथि अण्डा प्रहार गर्ने क्रममा अर्की महिला चिप्लेर लडेकी थिइन् । आफूलाई कुनै चोटपटक नलागेको ती महिलाले स्पष्ट पारे तापनि प्रधानमन्त्रीले भने ती महिला लडेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मरिसन नै यस वर्ष अण्डा प्रहारको सामना गर्ने पहिलो राजनीतिकर्मी बनेका छन् । यसअघि मार्चमा सिनेटर फ्रासर एनिडलाई पनि एक युवाले अण्डा प्रहार गरेका थिए । १७ वर्षीय ती युवालाई पक्राउपछि प्रहरीले ‘सचेत’ गराएर छाडिदिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर