newskoseli.Com

बढ्यो वृद्ध भत्ता : पुग्यो मासिक ३ हजार, सहिद–बेपत्ता परिवार र घाइते योद्धा पनि समेटिए

सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ताको रकम एक हजार रुपैयाँ बढाएर मासिक तीन हजार रूपैयाँ पुर्‍याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा एक हजार रुपैयाँ वृद्धभत्ता बढेको घोषणा गरेका हुन् । अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ मासिक भत्ता पाउनेछन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपांगता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिनेछन् । अति अशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मूख आदिवासी जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक एक हजार रूपैयाँ वृद्धि गरिएको हो । यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करिव नौ लाख व्यक्तिको जीवनमा सहजता आउने अपेक्षा गरिएको छ ।

यसैगरी, सहिद तथा बेपत्ता परिवार र घाइते योद्धालाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएर भत्ता उपलब्ध गराइने नीति बजेटले अवलम्बन गरेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले मासिक १ सय रूपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले ‘कम्युनिस्ट सरकार’ ले दिएको ‘उपहार’ का रुपमा बुझ्ने गरेका छन् ।

ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीपलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक स्थानीय तहमा संघ, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्र सहकार्यमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने छ । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले मासिक १ सय ७५ रुपैयाँबाट वृद्धि गरी ५ सय रुपैयाँ पुर्‍याएको उक्त सामाजिक सुरक्षा भत्तालाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मासिक दुई हजार रुपैयाँ पुर्‍याएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर