newskoseli.Com

विद्रोहीको आक्रमणमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

हुथी विद्रोहीसँगको झडपमा यमनको सरकारी फौजका एक जना वरिष्ठ कमान्डरको मृत्यु भएको छ । यमनी सेनाका अधिकारीले जनाए अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भीडन्तका क्रममा उक्त घटना भएको हो ।

साउदी अग्रसरतामा हवाई आक्रमण तीव्र भएसँगै ढाली प्रान्तमा पछिल्ला केही दिनदेखि सशस्त्र सङ्घर्ष चर्किएको छ । भीडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो । स्रोतका अनुसार अरु दुई जना सैनिक अधिकृतको पनि ज्यान गएको छ ।

स्रोतका अनुसार ढालीमा भारी हातहतियार र तोपको समेत प्रयोग गरिएको छ । जनधनको निकै क्षति भएको अनुमान गरिएको यस भीडन्तका क्रममा हुथी विद्रोहीका केही लडाकुहरु पनि मारिएका छन् र केही घाइते भएका छन् ।

हुथी विद्रोहीविरुद्ध ढालीमा ठूलो सैन्य कारबाही थालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । ढालीका चाखाब, सुलेम र अलराबीलाई सरकारी फौजले पुनः नियन्त्रणमा लिएको छ । बुधबार ढालीमा हवाई आक्रमण तीब्र बनाइएको साउदी गठबन्धनले जनाएको थियो । सरकारी नियन्त्रणमा रहेको ढाली प्रान्तमा केही सातादेखि दुवै पक्षबीच भीषण युद्ध चर्किएको छ ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्द–राब्बु मन्सुर हाडीलाई निर्वासित गर्न बाध्य पारेका थिए । तर, साउदी गठबन्धनको सहयोगमा राष्ट्रपति हाडी पुनः सत्तामा फर्किएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर