‘प्रेस स्वतन्त्रता सेनानी’ हरुले मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । संसदमा दर्ता भएको उक्त विधेयक फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।
‘प्रेस स्वतन्त्रता सेनानी’ का रुपमा विभिन्न समयमा नेपाल पत्रकार महासंघद्वारा सम्मानित ३३ जना वरिष्ठ पत्रकार तथा लेखकहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर संसदमा दर्ता भएको उक्त विधेयक फिर्ता गराउन महासंघद्वारा जारी आन्दोनलमा आफूहरुको एेक्यबद्धता रहेको बताएका हुन् । विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको सेनानीहरुको दाबी छ ।
‘प्रस्तावित विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ । यो विधेयक फिर्ता वा संसदमा छलफल हुनुपूर्व संशोधन नभएसम्म पत्रकार महासंघलगायतका संघ–संस्थाहरुले थालेको अभियानमा हामी प्रेस स्वतन्त्रता सेनानीहरुको निरन्तर साथ रहनेछ’– विज्ञप्तिमा लेखिएको छ ।
नागरिकको मौलिक हक तथा मानवअधिकारको रक्षा गर्नु नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको बताउँदै प्रेस स्वतन्त्रता सेनानी, सञ्चार स्वतन्त्रताका अभियन्ता र आम नागरिकहरुको संयुक्त न्यायिक आन्दोलनमार्फत विधेयक फिर्ता गराइछाड्ने दृढता उनीहरूले व्यक्त गरेका छन् । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक तथा मानवअधिकारको रक्षा पनि हो त्यसैले हामी सञ्चार स्वतन्त्रताका अभियन्ता र आम नागरिकहरुको संयुक्त न्यायिक आन्दोलनमार्फत सफलता हासिल गरिछाड्ने दृढता पनि व्यक्त गर्दछौं’– उनीहरूले विज्ञप्तिमा लेखेका छन् ।
विधेयक फिर्ता नभएर आफूहरु नेपाल पत्रकार महासंघसँगै सडकमा आउन तयार रहेको सेनानीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले न्युजकोसेलीसँग भने– ‘महासंघ त घोषित आन्दोलनमै थियो, प्रतिष्ठित र सम्मानित अग्रजहरू पनि खुलेरै उत्रनुभयो, आन्दोलन सार्थक परिणाममा पुग्ने विश्वास अब झन् थपियो ।’
विज्ञप्त जारी गर्ने प्रेस स्वतन्त्रता सेनानीहरूमा अर्जुन ज्ञवाली (रुपन्देही, २०५८), हरिहर विरही (काठमाडौं, २०६३), गोपाल थपलिया (काठमाडौं, २०६३), केशवराज पराजुली (कास्की, २०६३), भैरव रिसाल (भक्तपुर, २०६४), दुर्गा बराल (बात्स्यायन, कास्की, २०६४), रामरिझन यादव (सिरहा, २०६४), मेघराज शर्मा (पाल्पा, २०६५), किशोर नेपाल (काठमाडौं, २०६६), सुरेश आचार्य (काठमाडौं, २०६७), कौशल चेम्जोङ (उदयपुर, २०६७), तारानाथ दाहाल (काठमाडौं, २०६८), दिल साहनी (रुपन्देही, २०६९), माधव आचार्य (धनुषा, २०७१), गोविन्दसिंह थापा (काठमाडौं, २०७१), सुशील गौतम (दाङ, २०७१), कुसुमकेशव पराजुली (कास्की, २०७१), कृष्णा ताम्राकार (काठमाडौं, २०७१), गया यादव (पर्सा, २०७१), रामनारायण देव (सप्तरी, २०७१), रीता गुरुङ (काठमाडौं, २०७१), शिवबहादुर कार्की (मोरङ, २०७३), याम प्रधान (सुनसरी, २०७३), बद्रीविनोद प्रतीक (कास्की, २०७३) नारायण भट्टराई (कास्की, २०७३), झपेन्द्र वैद्य (प्यूठान, २०७३), चिरञ्जीवी अर्याल (सुर्खेत, २०७३), हर्ष सुब्बा (सुनसरी, २०७४), कन्हैयालाल केसरी (पर्सा, २०७४), वसन्त पोखरेल (रुपन्देही, २०७४), राम केसी (सिन्धुपाल्चोक, २०७४), धर्मेन्द्र झा (काठमाडौं, २०७५), गोपाल गुरागाईं (काठमाडौं, २०७५) लगायत रहेका छन् ।
थप यो पनि पढ्नुहोस्–
के छ ‘मिडिया काउन्सिल’ विधेयकमा ? पूर्णपाठसहित