newskoseli.Com

बढेको वृद्धभत्ता : अहिलेदेखि नै पाइने कि साउनदेखि ?

‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेदेखि पाइने हो ? तपाईंलाई थाहा छ ?’ तारकेश्वर नगरपालिका– ४, काठमाडौं निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् ।

नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता दुई हजारबाट बृद्धि गरी तीन हजार रुपैयाँ पुर्‍याएपछि ज्येष्ठ नागरिकको प्रतिक्रिया बुझ्ने क्रममा उनीहरू दङ्ग देखिए । पहिरे ढुङ्गाना गाउँ, नुवाकोटका ८६ वर्षीय मित्रप्रसाद ढकालले प्रसन्न हुँदै भने– ‘गाउँघरमा त मासिक तीन हजार रुपैयाँले खान नै पुग्छ ।’

तारकेश्वरधाम (गुम्बा) मा भजनकीर्तनमा भेटिएका ढकाल र उनका साथीहरू भत्ता बढेकोमा निकै खुसी देखिन्थे । उनीहरूको जिज्ञासा थियो– बढेको भत्ता साउनदेखि मात्रै पाइने हो कि अहिलेदेखि नै ?

दक्षिणकाली, काठमाडौं निवासी ८४ वर्षीया सीता भट्टराईले भत्ता बढेको समाचार नातिहरूबाट थाहा पाइन् । भट्टराईले हाँस्दै भनिन्– ‘सुरुमा मासिक एक सय रुपैयाँ दिएको थियो, अहिले घरमै बसेर तीन हजार रुपैयाँ पाइने कुरा सुन्दा राम्रो लाग्यो ।’ देशका झन्डै १३ लाख ज्येष्ठ नागरिकका प्रतिनिधि आवाज हुन् यी ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ज्येष्ठ नागरिकको मासिक भत्ता दुई हजारबाट बढाई तीन हजार रुपैयाँ पुर्‍याएको घोषणा गरेपछि घर–घर, वस्ती–वस्ती र टोल–टोलमा यस विषयमा चर्चा चल्न थालेको छ । वृद्धवृद्धा खुसी हुन थालेका छन् । सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, एकल (विधवा) महिला, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिक, पूर्ण तथा आंशिक अपाङ्गता भएका र लोपोन्मूख आदिवासी–जनजाति र बालबालिका समेटिन्छन् ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि आगामी आर्थिक वर्षक लागि कूल ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर