newskoseli.Com

नेपालकै पहिलो विद्यार्थी आन्दोलन : ‘जयतु संस्कृतम्’

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनायो । आइतबार बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–सहिदगेट–बीर अस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा पुगेर माल्यार्पण गरी कार्यक्रम सम्पन्न गरियो ।

माल्यार्पणपछि तीनधारा पाठशालामा सभा आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अमेरिकी वैज्ञानिक संस्था नासाका प्रमुख र चिनियाँ राष्ट्र«पति समेत संस्कृत भाषा अध्ययनका लागि आकर्षित भइरहेका बेला नेपाली विद्यार्थीले लघुताभाषको अनुभव गर्नु नहुने बताए ।

सन् २०२४ मा नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनका लागि प्रतिष्ठानले पनि सघाउने प्रतिबद्धता उनले व्यक्त गरे । सन् २०१८ मा क्यानडामा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन भएको थियो । सन् २०२१ मा यो सम्मेलन अष्ट्रेलियामा हुँदैछ ।

कार्यक्रममा पूर्वसचिव वामनप्रसाद न्यौपाने, इन्जिनियर केशव पोखरेल, जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा. बद्री पोखरेल, महासचिव नवराज कट्टेललगायतका वक्ताले संस्कृत भाषाको उन्नयनमा सरोकारवाला निकायको ध्यान जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा सांस्कृतिक हाजिरीजवाफ प्रतियोगितामा पहिलो हुने नेपाल वेद विद्याश्रम गौशाला, दोस्रो हुने कान्तिभैरव गुरुकुल उत्तरवाहिनी, तेस्रो हुने संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र मोक्षदा स्कुल गौरीघाट, सान्त्वना स्थान प्राप्त गर्ने हिन्दू विद्यापीठ थलीलाई पुरस्कार समेत प्रदान गरियो ।

जहानियाँ राणा शासनको जगजगी कायम रहेका बेला वि.सं. २००४ असार १ मा तीनधारा पाठशाला (संस्कृत छात्रावास) मा अध्ययनरत विद्यार्थीले आधुनिक विषय समेत पढ्न पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका थिए । आधुनिक विषय पढ्न पाउनुपर्ने माग राख्ने विद्यार्थीलाई चार भञ्ज्याङ कटाइएपछि सो आन्दोलन ‘प्रजातन्त्र’ प्राप्तिको आन्दोलनतर्फ मोडिएको थियो ।

चार भञ्ज्याङ कटाइएका विद्यार्थीले देशका विभिन्न भागमा राणा शासनका विरुद्ध ‘प्रजातन्त्र’ का पक्षमा जनमत निर्माण गर्दै हिँडेका थिए । यसले ‘प्रजातन्त्र’ प्राप्तिमा सहयोग पुर्याएको थियो । आन्दोलनको नेतृत्व पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले गरेका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर