newskoseli.Com

नक्कली कम्पनी र झुट्टा भ्याट बिलबाट ३ अर्ब राजश्व छल्ने १५ जनामाथि मुद्दा

विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करिव ३ अर्ब राजश्व छलेको पाइएको छ ।

इनरुवा नगरपालिका– ९, बलाहा, सुनसरी घर भई हाल भक्तपुरको ठिमी बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरुविरुद्ध २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार १ सय १५ रूपैयाँ बिगो कायम गरी बिगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन् ।

उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाइँ) र पार्वती सूचीकारका नाममा ८ वटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानमा खुलेको मैनालीले जानकारी दिए । उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरिद–बिक्रीको कारोबार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ ।

यस्ता फर्महरुले बिजक मात्र जारी गर्ने गरेको र वस्तु तथा सेवाको वास्तविक खरिद–बिक्री नगरी झुट्टा तथा नक्कली बिजक जारी गरेको तथा त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ । राजश्व चुहावटमा फर्मका प्रोप्राइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखापरीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपालले गलत लेखापरीक्षण प्रतिवेदन तयार पारेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिए । उक्त घटनामा विभागले ४ महिना अघिदेखि अनुसन्धान थालेको थियो ।

विभागले यसअघि ८१ मुद्दामा १८ अर्ब ३२ करोड रूपैयाँको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २ सय ३८ जनाविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर