
अमेरिका–चीनबीच जारी ‘व्यापर–युद्ध’ कै सिलसिलामा स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता कम्पनी हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट लगाइएको व्यापारिक प्रतिबन्धपछि गुगलले पनि हुवावेले प्रयोग गर्दै आइरहेको आफ्नो कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनापछिदेखि लागू हुने गरी रद्द गरिसकेको छ । यस निर्णयपछि हुवावेले आफ्ना स्मार्ट फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउन नपाउने भएको छ ।
अमेरिकाको अर्थ मन्त्रालयले ‘राष्ट्रिय सुरक्षाका लागि खतरा रहेका कम्पनीहरुको सूची’ मा हुवावेलाई सूचीकृत गरेपछि यो समस्या आएको हो । यो प्रतिबन्धबाट आफ्नो कम्पनीलाई नोक्सान हुने स्वीकार गर्दै ३० देखि ४० अर्ब डलर घाटा हुन सक्ने गुगलले स्वीकारेको छ । यदि हुवावेले ‘गुगल सिस्टम’ लोड नगर्ने हो भने गुगललाई भविष्यमा ७० देखि ८० करोड युजर्स नोक्सान हुने प्रक्षेपण गरिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।