
१५ असारमा विविध कार्यक्रम गरी देशभर ‘राष्ट्रिय धान दिवस’ मनाइयो । तर, समयमै मनसुन नहुँदा यस वर्ष धान खेतीको उर्वरभूमि तराईमा रोपाइँले गति लिन सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै, रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २२ प्रतिशत रोपाइँ सकिएको छ ।
विगत वर्षदेखि नै आकासे पानीमा निर्भर भएकाले यस वर्ष किसानले समयमै रोपाइँ सुरु गर्न नसकेको विभागको भनाइ छ । सरकारले सिँचाइको पूर्वाधार विस्तार गर्न नसक्दा धानखेती हुनेमध्ये करिव ३० प्रतिशत भूभाग मात्र सिञ्चित क्षेत्रफलमा पर्छ । धानविज्ञ भोलामानसिंह बस्नेत सरकारले सिँचाइ सुविधा विस्तार नगर्दासम्म धानको उत्पादनमा ढुक्क हुन सकिने अवस्था नआउने बताउँछन् । ‘कुन वर्ष कति धान उत्पादन हुन्छ भन्ने कुरामा सरकारको हात हुने गरेको छैन, पानी पर्यो भने धान बढी फल्ने र पानी कम परे धान कम फल्ने गर्छ,’ उनले भने– ‘देशको प्रमुख कृषि उपज धानका लागि सिँचाइ पूर्वाधार पुर्याउन सरकार अहिलेसम्म सफल हुन सकेको छैन ।’
धानमा भएको उत्पादन वृद्धिले गर्दा देशको आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पर्दै आएको छ । चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांक छ । यो इतिहासकै सबैभन्दा बढी धान उत्पादन हो । धान उत्पादन बढेकै कारण सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सकेको हो । कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २७ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा धानको योगदान सबैभन्दा बढी २० प्रतिशत रहेको खबर अजित अधिकारीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।