newskoseli.Com

चर्चित जनसंस्कृतिकर्मी माइला लामा गिरफ्तार

प्रगतिशील पक्षधरहरू र स्रष्टा–सर्जकहरूको घोर आपत्ति, विनाशर्त र स–सम्मान तत्काल रिहा गर्न माग

नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका सबभन्दा प्रभावशाली समकालीन हस्तीहरुमध्येका एक माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज रहेका भनिएका माइलालाई शनिबार मध्यराति साढे बाह्र बजे उनी बसेको कोटेश्वर काँडाघारीस्थित घरलाई सशस्त्र सुरक्षा फौजले पूरै घेरा हालेर पक्राउ गरेको नेकपासम्बद्ध स्रोतले न्युजकोसेलीलाई बताएको छ ।

दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि नै त्यसको तयारी, प्रचारप्रसार, जनचेतना र संगठन निर्माण–सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका माइला लामा जनयुद्धको थालनीदेखि ‘अन्त्य’ सम्म विभिन्न भूमिकामा रहेर सक्रिय थिए । पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनाव भिडेर झिनो मतान्तरले पराजित भएका उनी दोस्रो संविधानसभा निर्वाचनको सक्रिय बहिष्कारमा क्रियाशील भए ।

माइला लामा जनयुद्धकालदेखि हालसम्म नै आम सर्वसाधारण जनता, तमाम लेखक–साहित्यकार एवं सबै क्षेत्रका कलाकार–सर्जकहरुबीच निकै आत्मीय, सम्मानित र स्थापित छन् । अझ पार्टीभित्र त सबै घटक र गुट–उपगुटका मान्छेहरुबीच समेत उनी निकै विश्वास, आदर र सम्मानका पात्र रहँदै आएका छन् । कार्यकर्तामाझ अत्यन्तै कुशल, भरोसापूर्ण र अभिभावकत्वपूर्ण नेतृत्वका रुपमा उनी स्थापित छन् ।

जनयुद्धकालमा काभ्रे जिल्लामा भएको एक त्रासदीपूर्ण आन्तरिक दुर्घटनामा परेर आँखा, कान, हात, खुट्टा र शरीरका अरू विभिन्न भाग क्षतविक्षत भएका उनी निकै कठिन उद्धार, उपचार, संघर्ष, त्याग र उच्च मनोबल एवं आस्था र आशावादिताकै भरमा आजपर्यन्त क्रियाशील छन् । अहिले पनि उनका आँखाको दृष्टि र कानको श्रवणशक्ति निकै कमजोर छ ।

थप यो पनि पढ्नुहोस्–
माइला पक्राउप्रति विप्लवको कडा प्रतिक्रिया : ‘योजनाबद्ध प्रतिरोध गर्ने’ चेतावनी (विज्ञप्तिसहित)

राष्ट्रियस्तरका प्रतिष्ठित सर्जक, एक अदभुत प्रतिभा, चर्चित साहित्यकार–कलाकार–संगीतकारलाई केवल आस्थाकै आधारमा फत्तुरपूर्ण झुटा आरोप लगाएर यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु विडम्बनापूर्ण तथा गणतान्त्रिक–लोकतान्त्रिक मूल्यको ठाडै विपरीत कार्य हाे ।

अझ मुख्यतः दसवर्षे जनयुद्धकै बलमा देशमा गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशिताजस्ता उपलब्धि हासिल भएको कुरामा देश–विदेशका सबै इमानदार नागरिकहरु सहमत छन् । तर, त्यही गणतन्त्र र लोकतन्त्रको फल खाँदै त्यसैका अभियन्ता एक क्रान्तियोद्धाहरूलाई राज्यले अपराधीसरह पक्राउ गरेर बन्दी बनाउनु खेदजनक भएको प्रारम्भिक प्रतिक्रिया लेखक–साहित्यकार–कलाकारहरुले दिएका छन् ।

आफूलाई ‘कम्युनिस्ट सरकार’ दावी गर्नेहरुले गरेको यो जघन्य हर्कतका विरुद्ध सिंगो देश उद्वेलित, आक्रोशित र आन्दोलित हुने निश्चित छ । कोही कृतघ्न र आपराधिक मानसिकताको छैन भने ऊ राज्यको यसखाले हर्कतका विरुद्ध र माइला लामाहरुको पक्षमा डटेर मैदानमा उत्रनु न्यूनतम कर्तव्य भएको स्रष्टा–सर्जक र प्रगतिशील पक्षधरहरूको भनाइ छ । गणतान्त्रिक नेपालका एक सशक्त क्रान्तियोद्धा एवं जनताका असली स्रष्टा–सर्जक माइला लामालाई पक्राउ गर्ने हर्कतप्रति घोर आपत्ति प्रकट गर्दै माइलालाई विनाशर्त र स–सम्मान तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर