newskoseli.Com

प्रहरी चौकीमा अज्ञात समूहद्वारा हमला, ५ थुनुवाको हत्या

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँच जना थुनुवाको ज्यान गएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।

थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कयौंको संख्यामा आएका ती बन्दुकधारीले ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारी अनुसार गोली प्रहारमा परी पाँच जना थुनुवा मारिएका छन् । तर, ती थुनुवालाई के–कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने उनले केही बताएका छैनन् ।

उक्त प्रान्त मेक्सिकोको ठूलो औद्योगिक क्षेत्रमा पर्दछ । त्यहाँ कार निर्माण गर्ने ठूलठूला कारखानाहरु रहेका छन् । त्यसकारण पनि यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरु जाने गर्दछन् । तर पनि त्यस क्षेत्रमा सरकारले बलियो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो उद्यमी व्यवसायीहरुले गर्दै आएका छन् । मेक्सिकोमा विगतदेखि नै अवैध रुपमा लागूऔषध ओसारपसार गर्ने विभिन्न आपराधिक समूहहरु सक्रिय रहिआएका छन् ।

यस आक्रमणमा पनि तिनै समूहहरुको हात हुन सक्ने प्रहरीले जनाएको छ । तर, यस कुराको आधिकारिक रुपमा पुष्टि हुन भने सकेको छैन । आक्रमणकारी को हुन् र तिनले किन प्रहरी चौकीमा नै हमला गरेका हुन् भन्ने बारेमा प्रहरीले खोजी गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर