newskoseli.Com

अमेरिकामा अर्को भीषण नरसंहार : एकै युवाले मारिदिए २० जना, २६ जना सख्त घाइते

अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त गोलीकान्डमा २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी ३ हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरु मलमा जम्मा भएका थिए । गोली चलाउने संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए ।

वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले बताए । मेक्सिको सीमाबाट करिव ८ किलोमिटर भित्र उक्त वाल्मार्टको सपिङ मल रहेको छ । एसोसिएटेड प्रेससँग कुरा गर्दै गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । तर, एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ ।

प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भने– ‘यहाँको दृश्य अति नै भयावह छ ।’ गोली लागेका २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी उनले दिए । घाइतेहरुका लागि रगतको अभाव रहेको सूचना प्रहरीले सार्वजनिक गर्नु परेको थियो । तनाबमा रहेका नागरिकलाई प्रहरी र सेनाले सान्त्वना दिन प्रयास गरेका थिए ।

‘अहिले यहाँको वातावरण आतंकित पार्ने किसिमको छ’– सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले भने । वाल्मार्टको महिलाका लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भनिन्– ‘निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणको कार्य भइरहेको थियो ।’

उनका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुबै जना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरु दुबै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भनिन्– ‘भाग्यवश दुबै जना सकुशल बाहिर निस्किए ।’ कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको उनले बताइन् । तर, प्रहरीले भने सो घटनामा एक व्यक्ति मात्र संलग्न रहेको बताएको छ ।

अमेरिकामा सन् २००६ यता जनसमुदायमाथि ११ पटक ठूला बन्दुक आक्रमण भैसकेका छन् । यी घटनामा संलग्न व्यक्तिहरु प्रायः २१ वर्षको हाराहारीका छन् । सन् २०१९ मा मात्र भीडभाडस्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ ।

एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकान्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर