newskoseli.Com

जनयुद्धकालीन जलविद्युत् आयोजनाले दिइरहेकाे उज्यालो

दस वर्षसम्म नेपालमा चलेको सशस्त्र जनयुद्धका क्रममा तत्कालीन माओवादीले धेरै ठाउँमा विद्यालय, सहिदगेट, चौतारा, विद्युतगृहलगायतका भौतिक संरचना निर्माण गरेको थियो । निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् ।

यिनैमध्येको एक उदाहरण हो रुकुम पूर्वको सिस्ने गाउँपालिका– २, छिपखोला (साविक प्वाङ गाविस– १) मा माओवादीले बनाएको विद्युत् आयोजना । उक्त आयोजनाले गर्दा नै यतिबेला छिपखोला वस्ती झिलीमिली देखिन्छ । उतिबेला निर्माण गरिएका उक्त आयोजनाले अहिले छिपखोलाका ४० घर परिवारलाई उज्यालो दिएको छ ।

संरक्षणको अभावले जनयुद्धकालका सबै संरचना तथा चिज–वस्तु लोप हुँदै गएको अवस्थामा त्यतिबेलाको विद्युत् आयोजनाले भने आजभोलि पनि गाउँ झिलीमिली हुँदा उक्त क्षेत्रका नागरिक गौरवान्वित छन् । स्थानीय जमुना पुन मगरले भनिन्– ‘तत्कालीन समयमा माओवादीले विशेष गरेर कम्युन सञ्चालनका लागि निर्माण गरेको आयोजना हो यो, यस आयोजनालाई हामीले अहिलेसम्म पनि उपभोग गर्दै आएका छौं ।’ स्थानीयलगायत सरोकारवाला निकायको संरक्षणमा अहिले पनि उक्त आयोजना जस्ताको तस्तै रहेको उनको भनाइ छ ।

ढुङ्गा र माटोले बनेको सानो दुईतले ढुङ्गाको छानो भएको घरमा यसको पावरहाउस छ । भिरालो जमिन भएका कारण विद्युत् पावरहाउसमा जो–कोही सजिलै पुग्न पनि सक्दैनन् । सदरमुकाम रुकुमकोटबाट करिव एक दिनको बाटो हिँडेर पुगिने उक्त ठाउँ युद्ध पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि हो । पहिले कम्युन सञ्चालन भएको उक्त ठाउँमा अहिले पनि नमूना वस्ती निर्माण गरेर मानिस मिलेर बसेका छन् ।

त्यस विद्युतबाट अहिले पनि त्यहाँका ४० घरधुरी लाभान्वित छन् । छिपखोलाको विद्युत् २०६२ साउनमा उत्पादन सुरु गरिएको थियो । ०६१ देखि सुरु गरिएको योजनाको निर्माण एक वर्षमा पूरा भएको थियो । १२ लाख रूपैयाँ खर्चेर तत्कालीन जनसत्ताले बिजुली निकालेको स्थानीय धनबहादुर पुनले बताए ।

पुनले भने– ‘हामी ३७ घरले केही दिन श्रमदान गर्‍यौं, प्रतिघर दुई हजारका दरले नगद लगानी पनि गरेर्‍यौं र बाँकी लगानी तत्कालीन पार्टी सत्ताले गरेको हो ।’ जनयुद्धकालको विद्युत् आयोजनाले अहिलेसम्म छिपखोलाको वस्तीलाई अँध्यारो हुन दिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर