
दाङको एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही– १५, भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । घोराही उपमहानगरपालिका– १०, नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर रकम हिनामिना गरेको आरोप लागेको हो ।
बैंक म्यानेजर बुढाथोकीले बैंकमा नक्कली ऋणी खडा गरी १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताएको खबर गोपाल शर्माको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।