
सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्यवृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले जानकारी दिए ।
‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं,’ भट्टराईले भने– ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ ।’ उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै किसानले मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले मूल्यवृद्धिका निम्ति स्वीकृति दिएको हो ।
७० रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य अब ७६ रुपैयाँ पुगेको खबर प्रेम पुन्थोकीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।