newskoseli.Com

पूर्वमहारानीलाई स्तन क्यान्सर, आइतबार शल्यक्रिया

जापानकी पूर्वमहारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । ८४ वर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको आइतबार शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गरेका थिए । झन्डै दुई सय वर्षको राजतन्त्रको इतिहासमा जीवितै रहेका राजाले स्वेच्छाले विश्वमा राजकाज त्याग गरेको यो नै पहिलो घटना भएको बताइएको छ ।

टोकियो विश्वविद्यालयको अस्पतालमा महारानी मिचिकोको शल्यक्रिया गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनको शल्यक्रिया केही घन्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्ने छ । शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए ।

छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उनको राजकुमारीको पदवी खोसिएको थियो । जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ । पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो ।

विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढ्नुअघि उनले बालिकाहरु मात्र पढ्ने क्रिश्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गरेकी थिइन् । उनैको कोखबाट सन् १९६० मा वर्तमान राजा नारुहितोको जन्म भएको थियो । सन् १९६५ मा उनका दोस्रो छोरा अकिशिनोको जन्म भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर