बिहीबारदेखि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आउने भएको छ । यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैंक र राष्ट्रबैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । आइतबार २७ र सोमबार एउटा गरी २८ वटै बैंकसँग सम्झौता गरिएको राष्ट्रबैंकले जनाएको छ ।
यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकारा पाइनेछ, चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ ।
हुन त हाल नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालनमा आएको आईपीएस कनेक्ट प्रणालीमार्फत पनि चेकविना नै रकम स्थानान्तरण गर्न सकिन्छ । यो प्रणालीबाट धेरै ठूलो रकम स्थानान्तरण गर्न अप्ठ्यारो हुन्छ । आरटीजीएसमार्फत ठूलो रकम पनि तत्काल भुक्तानी गर्न सकिन्छ ।
आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फारम भर्नु पर्नेछ । सोही फारमको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ । ‘यो प्रणालीको प्रमुख फाइदा भनेकै तत्काल अर्को खातामा रकम जम्मा गर्न सकिनु हो’– राष्ट्रबैंक भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले भने ।
आरटीजीएस प्रणालीमार्फत रकम स्थानान्तरण गर्दा चेक काट्नु पर्दैन । यो प्रणालीका लागि बैंकले निश्चित फारम तयार पारेका हुन्छन् । ग्राहकले सोही फारममार्फत आफूले चाहेको व्यक्तिको बैंक खातामा रकम पठाउन सक्छन् । सुरुमा राष्ट्रबैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो ।
२० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रुपमा आरटीजीएसमार्फत गर्नुपर्ने बताएको थियो । ‘२० लाखभन्दा बढीको कारोबार आरटीजीएस प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ,’ मिश्रले भने– ‘भर्खर मात्र यो प्रणाली सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ ।’ यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रुपमा आरटीजीएसमार्फत गरिने उनले बताए ।
यो प्रणाली लागू भएपछि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने मिश्रको भनाइ छ । ‘तत्काल खातामा पैसा आउँछ, यसले मानिसको कार्यक्षमता अभिवृद्धि हुन्छ, बजारमा मुद्रा आपूर्तिको गति बढ्छ, अन्तर्बैंकिङ कारोबार छिटो र प्रभावकारी हुन्छ’– मिश्रले थपे ।
पहिलो चरणमा राष्ट्रबैंकले वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको हो । वाणिज्य बैंकहरु आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन् । यस्तै, विकास बैंक र फाइनान्स कम्पनी एशोसियट सदस्य छन् । आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्रबैंकले जनाएको छ । त्यसपछि सदस्य बैंक तथा वित्तीय संस्थाको खातामा तत्काल रकम जम्मा गर्न मिल्ने सुविधा ग्राहकले पाउनेछन् ।
यस्तो सेवा बिहान लिँदा प्रतिकारोबार १० रुपैयाँ, मध्याह्न २० रुपैयाँ र साँझ ३० रुपैयाँ तिर्नुपर्छ । बैंकअनुसार यस्तो शुल्क कम पनि हुन सक्ने खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।