newskoseli.Com

१००, १००० र २५०० रूपैयाँका ४५ हजार वटा सिक्कामा छापिए सत्यमोहन जोशी

नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरेको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो ।

वि.सं. १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदाश र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा सत्यमोहनको जन्म भएको थियो । ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बैंकले क्युप्रोनिकेल धातुबाट बनेका रुपैयाँ १०० दरका (तौल २५ ग्राम, ब्यास ३७ एमएम, निष्काशन संख्या १० हजार थान) तथा चाँदीबाट बनेका रुपैयाँ १००० दरका (तौल १० ग्राम, ब्यास २९ एमएम, निष्काशन संख्या २५ हजार थान) र रुपैयाँ २ हजार ५ सय (२५०० रुपियाँ) दरका (तौल ८ दशमलव ५ ग्राम, ब्यास २९ एमएम, निष्काशन संख्या १० हजार थान) सिक्का निष्काशन गरेको हो ।

राजा र राजपरिवारका सदस्य बाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्काशन गर्न पाउने वाङ्मय शताब्दीपुरुष जोशी नै पहिलो व्यक्ति हुन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्काशन हुने गर्दथे ।

‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो,’ प्रवक्ता समेत रहेका निरौलाले भने– ‘सिक्का निष्काशनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ ।’

टक्सारले नेपालका ऐतिहासिक अवसर एवं सामाजिक र सांस्कृतिक निधिहरूलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्का निष्काशन गर्दै आएको खबर सुनील महर्जनको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर