वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँ बराबरको खाजा खाएको बिल पेस गरेका छन् । २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले ४ लाख ६९ हजार ३ सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ । बिलको सदर सेञ्चुरी स्वयंले गरेका हुन् ।
अस्पताल प्रशासनले तयार पारेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट २ लाख ९० हजार र जी एन्ड बी क्याफेबाट १ लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ । स्रोतका अनुसार एक महिनामा झन्डै ५ लाख रुपैयाँ बराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन् । ५ लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन् ।
‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै माइतीघर किन जानुपर्यो ? त्यसमा पनि अस्पतालभित्रै क्यान्टिन छ । त्यसैले माइतीघरको क्याफेबाट तयार पारेका बिल नक्कली हुन्,’ स्रोतले भन्यो– ‘अस्पताल प्रशासनले तयार पारेका केही बिलमा सार्वजनिक बिदाका दिन पनि खाजा खर्च भएको देखाइएको छ ।’
यस विषयमा डा. सेञ्चुरीसँग जिज्ञासा राख्दा केही ‘बदमास’ ले आफूविरुद्ध गलत प्रचार गरेको उनले बताए । ‘अनियमिता भएकै छैन,’ उनले भने– ‘केही बदमासले गलत प्रचार गरिरहेका छन् ।’ वीर अस्पतालको चरम बदमासीसम्बन्धी यो खबर भुवन शर्माको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।