newskoseli.Com

हो, मलाई यस्तो दसैं मनाउन मन छ…

एक पटक मलाई दसैं मनाउन मन छ
हो, एक पटक मलाई दसैं मनाउन मन छ
वर्षभरिको काम र थकाई बिर्सिएर
खुशीयालीको दसैं मनाउने मन छ
बारीभरि पहेंलै मकै भाँच्दै गर्दा
‘दसैंअगाडि नै तोरी छरिसक्नुपर्छ’ भन्ने
मकैका सर्‍याङ–सर्‍याङ आवाजसँगै मिश्रित
बुबाको आवाज सुन्न मन छ
हो, मलाई तोरी छरिसकेको दसैं मनाउन मन छ !

आज दसैंको लुगा किन्न जाने
बुबा अघि–अघि,
अनि म पछि–पछि
बुधबारे बजार जाँदाको उकालीमा
रङ्गीचङ्गी कपडाको कल्पनामा रमाउन मन छ ।
घर पोत्नुपर्ने,
टिनको चुना राम्रो कि बोराको चुना राम्रो भनेर
अग्नि दाइको होलसेल पसलमा सोध्न मन छ,
बेलुकी आँगनीमा किटको ठूलो कराईमा
खन्याइयको सेतो चुनामा पानी खन्याउँदा
पानी कसरी उम्लिएको होला !
अचम्म मान्दै चुना पड्किएको आवाज सुन्न मन छ,
एकाबिहानै गोरे दाइले
आँगनीमा बाबियाको
चुना छ्याप्ने कुचो र बाँसको भर्‍याङ बनाएको हेर्न मन छ ।

माछापोखरीको डिलको बाटोबाट
अगमे दाइले लुगा सिलाउने हाते कल बोकेर
घरतर्फ लम्कँदै गरेको हेर्न मन छ,
अनि आँगनको बीचमा ठूलो
परालको सुकुल विछ्यायर
कपडाको मेरो नापो लिँदै गर्दा
छेवैमा बसेर बुबाले
‘बढ्दो उमेरको मान्छे, अलिक ठूलो सिलाइदेऊ’
भनेको सुन्न मन छ,
अलिकति धागो पुगेन भनेर
कपडा र धागोको रङ्ग नमिलाई सिलाउँदा
रङ्गीन देखिएको नयाँ लुगा लगाएर
कतै साँघुरो भयो कि भनेर मापन गर्न
बुबाले आँगनभरि उफ्रन लगाउँदा
बुरुक्क–बुरुक्क भ्यागुताजस्तै गरी उफ्रन मन छ ।

छिटछिटो घाँस काटिसकेर
पल्लाघराँ बाबियोको लठारो बाट्न
सघाउन जान मन छ,
एकाबिहानै, झिसमिसेमा
ढिकिच्याउँ–ढिकिच्याउँ गर्दै
आमा र दिदीहरुले चिउरा कुटेको आवाजले ब्युँझन मन छ,
र आँखा मिच्दै ढिकीमा गएर
हात थाप्दै लट्टा परेको चिउरा माग्न मन छ ।

पुरेतले नौ दिनसम्म नवदुर्गाको पाठ लगाउँदा
पूजा सकेपछि साँलदाइले शङ्ख बजाउँदा
मलाई जोड–जोडले घण्ट बजाउन मन छ,
ठोक्रेखोलादेखि गुराँसे भीरसम्म
कान्लो ताछेर चिल्लो बनाएको बाटामा हिँड्न मन छ ।

अष्टमीमा पूजा गर्न भनेर
टीके कचियादेखि ठूलो कत्तिसम्मका हतियार थुपारेर
सानो धारामा बालुवाले मस्काई–मस्काई
टिलिक्क टल्काउन मन छ,
देवीथुमको डाँडामा लगाएको लिङ्गेपिङको भीडमा
तँछाड–मछाड गर्दै
पालो मिचेर पिङको काम्रोमा खुट्टा हाल्न मन छ,
सिकुवामा विछ्याएको नयाँ राडीमा
ठूलो दाइदेखि मसम्म
सँगै, क्रमैसँग मिलेर टीका थाप्न बस्दा
बुबाको ‘आयु द्रोणसुते…’ आवाजसँगै
थालीको छेउमा टिलिक्क टल्किएका
नयाँ, राता नोटमा आँखा नझिम्क्याई
एक टकले हेरिरहन मन छ,
हो, मलाई एक पटक दसैं मनाउन मन छ !!

(म दीपक आचार्य, ‘सक्किगोनि’ हास्यश्रृंखलाको श्रृंखला निर्देशक एवं ‘काकु’, मेरो तर्फबाट समस्त देशवासी बुबा–आमा तथा दाजुभाइ–दिदीबहिनीमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना !)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर