newskoseli.Com

टर्कीद्वारा सिरियामा भीषण आक्रमण : विश्वजगतका क–कसले के–के भन्दैछन् ?

उत्तरपूर्वी सिरियास्थित कुर्दिश लडाकुको नियन्त्रणमा रहेको इलाकामा टर्कीको सुरक्षा बलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घन्टापछि स्थल आक्रमण सुरु गरेको छ ।

यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ ।

बुधबार ट्विटरमार्फत राष्ट्रपति रेसेप तायिप एर्डोगानले आक्रमण सुरु गर्ने घोषणा गरेलगत्तै कुर्द स्थानहरू लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो । यस आक्रमणका कारण हजारौं सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् । बुधबार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कयौं सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेका थिए । बुधबार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ । सो नगर कुर्द समूह वाईपीजीको नियन्त्रणमा थियो ।

टर्कीले गरेको यस हमलाप्रति ब्रिटिश विदेशमन्त्रीले गम्भीर चिन्ता प्रकट गरेका छन् । यस हमलाबाट सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आईएसविरुद्ध मिलेका सफलता उल्टिने जोखिम उत्पन्न भएको उनले बताएका छन् । बुधबार साँझ स्थल आक्रमण सुरु भएको टर्की रक्षा मन्त्रालयले जानकारी दिएको छ । टर्कीले सुरु गरेको ‘कारबाही’ जति सक्दो ‘मानवीय रुपमा’ सञ्चालन भएन भने देशको अर्थतन्त्रलाई ठूलो असर पारिदिने धम्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

लामो समयदेखि राष्ट्रपति ट्रम्पको कट्टर समर्थक रहँदै आएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले यस मामिलामा भने ट्रम्पको आलोचना गरेका छन् । सिरियाली उत्तरी प्रान्तमा शासन गरिरहेका कुर्दले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकलाई आग्रह गरेका थिए । टर्कीको आक्रमण हुन सक्ने क्षेत्रको प्रतिरक्षामा लाग्न उनीहरुले सर्वसाधारणलाई आग्रह गरिरहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर