newskoseli.Com

तत्काल राजीनामा दिन सबै मन्त्रीलाई राष्ट्रपतिको निर्देशन

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि शनिबार उनले आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन् ।

‘आन्दोलनकारीहरुको मागअनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छु’– उनले पत्रकारहरुसँग भनेका छन् । राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा आन्दोलनकारीको आवाज आफूले सुनेको उनले बताए ।

‘हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपतकालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढङ्गले निकाल्नु पर्दछ’– उनले भने । गत शुक्रबार राजधानी सान्टियागोमा दसौं लाख जनाले राष्ट्रपतिको राजीनामाको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए । उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, अन्य आधारभूत सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग राखेका छन् ।

अहिले भएको आन्दोलनका क्रममा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । आन्दोलन चर्कंदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको समेत घोषणा गरेका थिए । आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्तामार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको राष्ट्रपतिले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर