newskoseli.Com

अर्जेन्टिनी राष्ट्रपतिद्वारा पराजय स्वीकार, अल्बर्टो फर्नान्डेज विजयी : पूर्वराष्ट्रपति क्रिस्टिना उपराष्ट्रपति बन्दै

अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति त्यहाँका वर्तमान राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गरेका छन् ।

मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तीब्र आलोचना भइरहेको सन्दर्भमा मुख्य विपक्षी अल्बर्टो फर्नान्डेज विजयी भएका छन् । यस चुनावी नतिजाले अर्जेन्टिनाको पहिल्यैदेखि कमजोर मुद्रा अझ कमजोर हुने र वित्तीय बजारमा नकारात्मक सन्देश जाने अनुमान गरिएका छन् । अल्बर्टो फर्नान्डेजकी उपराष्ट्रपति उम्मेदवार क्रिस्टिना फर्नान्डेजका कतिपय विवादास्पद नीति र भनाइहरुले पनि अर्थतन्त्रमा अस्थिरता निम्त्याउने आशंका गरिएको हो ।

क्रिस्टिना यसअघि सन् २००७ देखि २०१५ सम्म अर्जेन्टिनाका राष्ट्रपति इिन् । अनुदारवादी छवि बनाएकी पूर्वराष्ट्रपति क्रिस्टिनाले नवनिर्वाचित राष्ट्रपति अल्बर्टोमाथि प्रभाव राख्ने सम्भावना बढी भएको विपक्षीहरुको भनाइ छ । प्रारम्भिक चुनावी नतिजा सार्वजनिक भएलगत्तै फर्नान्डेजका हजारौं समर्थक अर्जेन्टिनाको झन्डा लिएर सडकमा उत्रिएका थिए । प्रदर्शनकारीले ‘हामी फेरि सत्तामा आएका छौं’ भन्दै नारावाजी गरेका थिए ।

‘आज सबै अर्जेन्टिनीको राष्ट्रपतिमा अल्बर्टो चुनिनुभएको छ,’ समर्थकहरुलाई सम्बोधन गर्दै क्रिस्टिनाले भनिन्– ‘उहाँमाथि ठूलो जिम्मेवारी छ र त्यसका लागि सबै अर्जेन्टिनीले सहयोग गर्नु पर्दछ ।’ अर्जेन्टिनाको राजनीतिमा निकै प्रभावशाली मानिएकी क्रिस्टिनाका पति नेस्टर कर्चनर पनि अर्जेन्टिनाका पूर्वराष्ट्रपति हुन् ।

नवनिर्वाचित राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि समर्थकहरुलाई धन्यवाद दिँदै पूर्वराष्ट्रपति कर्चनरको योगदानलाई स्मरण गरे । अर्जेन्टिनाले सामना गरिरहेका समस्यासँग जुध्न वर्तमान राष्ट्रपति म्याक्री प्रशासनको पनि सहयोग आवश्यक भएको उनले बताए ।

पराजित राष्ट्रपतिले यसाे भने…

आफ्नो पार्टीको मुख्यालयमा जम्मा भएका निराश समर्थकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति म्याक्रीले नवनिर्वाचित राष्ट्रपति अल्बर्टोलाई बधाई दिएका छन् । उनले नवनिर्वाचित फर्नान्डेजलाई सोमबार राष्ट्रपति निवासमा आमन्त्रण गरेका छन् । उनले भने– ‘हामी चाहन्छौं, शान्तिपूर्ण सत्ता हस्तान्तरण होस् र यसबाट सबै अर्जेन्टिनीमा खुशीको वातावरण निर्माण होस् किनभने हामी सबैको चाहना सबै अर्जेन्टिनीको भलाइ हो ।’

निर्वाचन आयोगका अनुसार करिव ९६ प्रतिशत मतगणना सकिँदा अल्बर्टो फर्नान्डेजले करिव ४८ प्रतिशत र राष्ट्रपति म्याक्रीले ४० प्रतिशत मत प्राप्त गरेका छन् । अन्तिम चुनावी नतिजा सार्वजनिक गर्न भने बाँकी नै छ । दुवै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको अवस्थामा पनि कम्तिमा दुवै उम्मेदवारबीच १० प्रतिशतको अन्तर हुनु पर्नेछ, अन्यथा नोभेम्बर २४ मा दोस्रो चरणको मतदान हुनेछ ।

यसअघि सन् २०१५ मा मुलुकको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाउँदै म्याक्रीले चुनाव जितेका थिए । क्रिस्टिनाले रोजेका उम्मेदवार भने त्यसबखत पराजित भएका थिए । अर्जेन्टिनाको यस चुनावमा १ सय ३० जना तल्लो सदनमा र २४ जना कङ्ग्रेसमा सिनेटर पनि छानिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर