newskoseli.Com

८ हजार कुकुरको बन्ध्याकरण, ६ हजारकाे अझै बाँकी

काठमाडौं महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनका लागि ‘मानवीय’ तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ ।

कामपाले तीन वर्षअघि सुरु गरेको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै छ । ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हकहितमा काम गर्दै आएको र हाल विश्वका ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्युट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौंमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर छन् ।

‘हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका थियौं,’ मनुमित्र कार्यक्रम संयोजक सङ्गीता सापकोटाले भनिन्– ‘२२ हजार यस्ता कुकुरमध्ये कूल १४ हजारको बन्ध्याकरण गर्नुपर्ने थियो, आठ हजारको बन्ध्याकरण गरिसक्यौं भने छ हजारको अझै गर्न बाँकी छ ।’ बाइस हजारमध्ये आठ हजार सामुदायिक कुकुर केही बूढा, केही दूध चुसाउने बच्चाका माउ र केही बच्चा रहेकाले यिनीहरुको बन्ध्याकरण गर्न नमिल्ने सापकोटाले बताइन् ।

तथ्यांक र गतिविधि

काठमाडौंमा बढ्दै गएको कुकुरको सङ्ख्याबाट भित्रने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइसकेको मनुमित्र सामुदायिक कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए । मनुमित्रले हरेक शुक्रबार आफ्नो क्लिनिकमा लगेर यस्ता कुकुरको बन्ध्याकरण गरी ‘भी’ आकारमा कान चिरेर चिह्न लगाउने गरेको छ ।

२०७३ मा द जेन गुडअल इन्स्टिच्युट नेपालले सामुदायिक कुकुर व्यवस्थापनमा लगानी गरेको थियो । २०७४ मा कामपाले ७२ लाख रुपैयाँको औषधी खरिद गरिदिएको थियो । यसैगरी २०७६ मा कामपाले ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मनुमित्रकी संयोजक सापकोटाले बताइन् ।

कामपाका सबै वडामा पशु व्यवस्थापन सहायक समूह गठन गरी मनुमित्रले ३० जना सदस्यसहित २, ३, १३ र १४ बाहेक सबै वडामा रहेका यस्ता कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । सो संस्थाले सामुदायिक कुकुरसम्बन्धी नीति निर्माण गर्नु आवश्यक रहेको औंल्याएको छ । हरेक प्रकारका कुकुरको आयु १२ देखि १५ वर्ष हुने हुँदा मनुमित्रले समाजमा रेबिज शिक्षाका कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रमलगायतका विभिन्न काम गरिरहेको छ ।

मनुमित्रले महानगरसँग गरेको तीन वर्षसम्मको सहकार्य हाल अन्तिम चरणमा रहेकाले यसको समाप्तिसँगै समाजमा रहेका यस्ता कुकुरको हेरविचार कसले गर्ला भन्ने चिन्ता छ । यो कार्यक्रम केवल काठमाडौंमा मात्र अघि बढाइएको थियो । यस कार्यक्रमका कारण आफ्ना घरमा कुकुर पाल्ने मानिस समेत सचेत भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर