newskoseli.Com

नेकपाकै आन्तरिक तयारी नपुगेर भक्तपुरमा पराजय भोग्नुपर्‍यो

निर्मल भट्टराई, नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

हालै सम्पन्न उपचुनावमा अन्यत्र निकै राम्रो परिणाम ल्याउँदा पनि विगतमा ठूलो मतान्तरले विजय हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा भने सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पराजित हुन पुग्यो । निर्वाचनमा सफलता हासिल गर्न नसकेपछि हाल विभिन्न टीकाटिप्पणी सुरु भएका छन् । पञ्चायतकालदेखि नै भक्तपुरको पार्टी संगठन निर्माणमा खटेका र नेकपामा वैचारिक नेताको परिचय समेत बनाएका भट्टराईसँग यही सेरोफेरोमा रहेर गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत छ–

तपाईंको पार्टी नेकपाले भक्तपुरको उपचुनावमा किन हार खायो ? मुख्य कारण के–के हुन् भन्ने ठान्नुहुन्छ ?

हेर्नोस्, पराजयको प्रमुख र एक मात्र कारण पार्टीको आन्तरिक तयारी नपुग्नु नै हो । पार्टी एकताको डेढ वर्ष नाघिसक्दा पनि भक्तपुरमा तलसम्मको एकता गर्न सकिएन । एक वर्षदेखि हजारौं पार्टी सदस्यहरु पूरै असंगठित र बेखबर हुने स्थिति पैदा भयो । जिल्ला कमिटी बनेको छ महिना बितिसक्दासम्म पनि नगर र वडा कमिटी निर्माण हुन सकेनन् । पार्टीले गरेका राम्रा कामलाई पार्टी संगठनमार्फत् जनतामा सम्प्रेषित गर्न सकिएन । पार्टी र सरकारप्रति विपक्षीले फैलाएका आधारहीन भ्रम चिर्न सकिएन । अर्कातिर, ‘सामूहिक निर्णय–व्यक्तिगत जिम्मेवारी’ को परम्पराबाट चलेको पार्टी यो अवधिमा त्यसरी चल्न सकेन । सबैलाई समेट्ने प्रयास भएन । केही नेताको कानेखुशीलाई निर्णय मानेर चल्नुपर्ने परिस्थिति उत्पन्न भयो ।

पराजयमा टिकट वितरणको लफडा चाहिँ जिम्मेवार छैन ? अन्तर्घातको चर्चा पनि सुनिँदैछ नि ?

नेकपाको सचिवालयले नेकपाका जिल्ला सचिव डीपी ढकाललाई टिकट दिने निर्णय गरेपछि जिल्लाका केही नेताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी मात्र गर्नु भएन, निर्णय उल्टाउन शीर्ष नेताहरुकहाँ ‘डेलिगेसन’ जाने काम समेत गर्नुभयो । त्यसले कार्यकर्तामा क्षणिक रुपमा निराशा जगाउने र विभाजित तुल्याउने वातावरण बनायो भने विपक्षीलाई उत्साहित बनाउने काम गर्‍यो । त्यस कार्यले केही क्षति पुर्‍याए पनि केही दिनभित्रै पार्टी एकजुट भएर चुनावमा होमियो । पार्टीको सम्पूर्ण पङ्क्ति इमानदारितापूर्वक आफ्ना उम्मेदवारलाई जिताउन लागेको यथार्थ हो । त्यसकारण अन्तर्घातको हल्ला बिल्कुलै निराधार हो ।

सांसद महेश बस्नेतले त ‘पार्टीले उपयुक्त उम्मेदवार छनोट नगर्दा पराजय भोग्नु परेको’ टिप्पणी गरेका छन् नि ?

यो उहाँको हल्काफुल्का टिप्पणी हो । यस्ता टिप्पणीले उहाँको कद घटाइरहेछ । शतप्रतिशत ठीक को हुन्छ ? गएको निर्वाचनमा शतप्रतिशत सही उम्मेदवार त उहाँ पनि त हुनुहुन्थेन । पार्टीले टिकट दियो, तत्कालीन एमालेका अध्यक्ष राजेन्द्र राजथलाको नेतृत्वमा पार्टी संगठन मजबुत थियो, उहाँले चुनाव जित्नुभयो । राष्ट्रका लागि चाहिने सही ऐन–कानुन निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको परिभाषित जिम्मेवारी हो, मेयर र वडाध्यक्षका कामको पछिपछि कुद्ने होइन । उहाँ पार्टीका नेता–कार्यकर्ता र आम मतदाताको निरन्तर निगरानीमा हुनुहुन्छ, परीक्षामा हुनुहुन्छ । आफैं परीक्षामा भएको व्यक्तिले अरुलाई अनुपयुक्तताको ‘सर्टिफिकेट’ बाँड्दै हिँड्न सुहाउँदैन ।

चुनाव त हार्नुभयो, अब चाहिँ कसरी अगाडि बढ्दै हुनुहुन्छ त ?

पार्टीको ठूलो शक्ति हुँदाहुँदै, पार्टीको सम्पूर्ण शक्ति लाग्दालाग्दै अप्रत्याशित नतिजा भोग्नुपर्दा पीडा त हुँदोरहेछ । हामी गम्भीर समीक्षा गर्छौं । थप एकताबद्ध भएर अगाडि बढ्छौं र गुमेको किल्ला अर्को चुनावमा फिर्ता गर्छौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर