newskoseli.Com

सन् २०१९ का विश्वचर्चित १९ घटना

सन् २०१९ मा पनि विगतका वर्षहरूमा जस्तै राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे । केही ठूला दुःखद् घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चार माध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटना यसप्रकार रहे–

१. भेनेजुयलाको पक्ष–विपक्षमा विभाजित विश्व

भेनेजुयलाको राजनीतिक संकटबाट सन् २०१९ को सुरुआत भएको थियो । जनवरी २३ मा भेनेजुयलाको राष्ट्रियसभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो । राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै र मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै उनले आफैंलाई राष्ट्रपति घोषणा गराए । गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरे । अमेरिका, युरोपेली राष्ट्रहरु, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अष्ट्रेलिया, इजरायललगायत झन्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिए । तर, मदुरो नै राष्ट्रपति कायम रहन सफल भए ।

२. ब्रेक्जिट सम्झौताको पक्षमा बेलायतमा जनमत

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदको निर्वाचनमा बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्ने जनादेशसहितको बहुमत पायो । हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ । उनले आगामी जनवरी ३१ मा बेलायतलाई ईयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुँदै उनी नयाँ निर्वाचनबाट फेरि प्रधानमन्त्री नियुक्त भएका हुन् ।

३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया

एक–अर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो । अघिल्लो वर्षको जुन १२ मा सिङ्गापुरमा पहिलो पटक अँगालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस वर्ष दुई पटक शिखर बैठक गरे । दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सीमानामा जुलाई १ मा भयो । दुवै बैठक ठोस उपलब्धिमूलक नभए पनि द्विपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषका रुपमा हेरिएको छ ।

४. बाढी र रोगबाट सयौंको मृत्यु

बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा ३ सयभन्दा बढीको मृत्यु भयो । भारतकै बिहारमा फैलिएको इन्सेफ्लाइटिस रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए । अष्ट्रेलियामा यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो ।

५. आन्दोलनमा सयौं मारिए

सुडानमा भएको आन्दोलनका क्रममा १०८ जनाको मृत्यु भयो भने इराकमा झन्डै एक सय जना आन्दोलनकै क्रममा मारिए । अन्य अफ्रिकी देशहरुमा पनि बेरोजगारी बढेको, आमजनता आधारभूत सेवाबाट विमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भैरहेका आन्दोलनमा परी सयौंको मृत्यु भएको छ ।

६. बेलायतमा कन्टेनरभित्र ३९ जनाको शव

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परे । ती शवमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको परीक्षणबाट पुष्टि भयो । उनीहरु सुरुमा चिनियाँ नागरिक भनिए पनि पछि भियतनामी भएको अधिकारीहरुले बताए ।

७. राहुल गान्धीको राजीनामा

भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए । लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिएका थिए । उनलाई राजीनामा नदिन शुभेच्छुकहरुले दबाव दिए पनि उनले मानेनन् । उनको अडानका कारण पार्टीका पूर्वअध्यक्ष तथा राजीवकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्ष छिन् ।

८. जापानी सम्राटको दुर्लभ निर्णय

जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस वर्ष भयो । स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय त्यहाँका तत्कालीन सम्राट अकिहितोले गरे । अकिहितोले गद्दी त्याग गरेपछि उनका ५९ वर्षका छोरा नारुहितो जापानको राजा भए । नयाँ राजाले राजगद्दी समालेसँगै जापानमा नयाँ युगको सुरुआत भएको भनियो ।

९. भारतमा बाबरी मस्जिद र जम्मु काश्मिर काण्ड

मुस्लिमबाहुल्य जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश भारत सरकारले जुलाई ५ मा जारी गर्‍यो । त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्रशासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्त्वपूर्ण दिनका रुपमा लिइएको छ । भारतकै अयोध्यामा वर्षौं पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि उक्त क्षेत्रमा बाबरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वोच्च अदालतले सो स्थान हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्‍यो ।

१०. श्रीलंकामा दाजुभाइको सत्तारोहण

श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका भाई गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए । उनी निर्वाचित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिए र राष्ट्रपतिले आफ्नै दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरे । सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किए र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एशियाको एक चर्चाको विषय रह्यो ।

११. इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै मृत्यु

अदालतमा बयान दिने क्रममा ढलेर इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको मृत्यु भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । अदालतमा बयान दिन लागेको केही बेरमा मोर्सी ढले । प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकहरुले भने उनको हत्या भएको आरोप लगाए ।

१२. पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा पक्राउ परे । सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।

१३. २ सय २७ बालबालिकाको सामूहिक चिहान

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएका यस्ता चिहानहरुमा यो नै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताए ।

१४. ‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति

जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितिन् । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्त्वका साथ लिइयो । टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तिर्न आदेश दियो । उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेकी थिइन् ।

१५. सरिफ सिकिस्त, अब्बासी पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भएका छन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि बेलायत लगिएको थियो । उनको अवस्था अहिले पनि चिन्ताजनक नै छ । सन् २०१९ मै पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे । सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो ।

१६. मुसर्रफलाई मृत्युदण्ड

पाकिस्तानका अर्का पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि फैसलाले विश्वभरि नै विवाद निम्त्याएको छ । बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनुअगावै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्न समेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ ।

१७. नागरिकताको नयाँ व्यवस्थाले ततायो भारत

नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिलनाडू राज्यलगायतका सहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौंको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो ।

१८. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव

सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिहरुमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै हाउस अफ रेप्रिजेन्टेटिभ्सले डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको छ । तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो ।

१९. सान्ना बनिन् विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो वर्षको अन्त्यतिर निकै चर्चा पायो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको छ । उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० वर्षभन्दा कम उमेरकालाई बनाएकी छन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् ।

यी बाहेक अमेरिका र चीनको व्यापारयुद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभर चर्चामा रहिरहे । यस्तै उतारचढावका बीच वर्ष २०१९ बिदा हुँदैछ र नयाँ वर्ष– २०२० लाग्न थालेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर