सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन ।
वैदेशिक रोजगारीका नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । विदेश पठाउने नाममा संस्था अर्थात् म्यानपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा युवाहरुका प्रशस्त उजुरी आउने गरेका छन् ।
चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात् म्यानपावरले १९ करोड २९ लाख २४ हजार ७ सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा ६ सय ४१ वटा उजुरी दर्ता गराएको खबर सोमबारको आर्थिक दैनिकमा प्रकाशित छ ।