
कृषि विकास बैंक न्यूरोड शाखामा दुई वर्षअघि भएको ४ करोड ४२ लाख रुपैयाँ अनियमितताको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
सो बैंकमा सहायक ट्रेलर पदमा रहेकी कर्मचारी दीपिका रेग्मीको योजनामा अन्तरबैंक कारोबारको रकम ‘पेन्डिङ’ देखाएर त्यो रकम निकाली अनियमितता भएको थियो, जसमा नेपाली सेनाका बहालवाला जर्नेल समेत मुछिएका थिए । आयोगले रेग्मी, तत्कालीन जर्नेल रमेश विष्ट, बैंकका शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, बैंकका कर्मचारीहरू गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे तथा सुन पसले प्रकाश घतानीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जर्नेल विष्टको खातामा ३३ लाख !
अवैध रूपमा निकालिएको मध्ये ३३ लाख रुपैयाँ जर्नेल विष्टको खातामा भेटिएको थियो । दीपिकाको बयानका आधारमा उनको बैंक खातामा पैसा रहेको पत्ता लागेको थियो । विष्टलाई सैनिक अदालतले समेत कारबाही गरिसकेको छ । सोही अभियोगमा उनी जेल समेत बसेका थिए ।
अवैध रकमबाट ठूलो मात्रामा सुन खरिद गरिएको खुलेपछि सुन पसले घतानीविरुद्ध समेत मुद्दा दायर भएको छ । सो सुन पसलमा उनले २ करोड ६७ लाख रुपैयाँको गहना किनेकी थिइन् । उनको बैंक लकरबाट मात्र प्रहरीले १ सय ७० तोला सुन बरामद गरेको थियो । महत्त्वाकांक्षी स्वभावकी दीपिकाले ठगी गरेको रकम उनले सुन किनेर र विदेश घुमेर सिध्याएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।