newskoseli.Com

मन्त्रीले नै खोला आफ्नो नाममा बनाएर यसरी बेचिदिए !

२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।

०२१ को नापीले मध्यपुर थिमि नगरपालिका– ३, सागबारीस्थित २८ रोपनी ३ आना २ पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख, ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए ।

भूमि प्रशासनको निर्णयवमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको मालपोतको लिखतमा उल्लेख छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ । कित्ता नम्बर ११२१ को जग्गा भने सरकार वा व्यक्ति कसको नाममा गरिएको भन्ने कार्यालयको ढड्डाबाट स्पष्ट खुल्दैन । नापी कार्यालय भक्तपुरले कित्ता नम्बर ११२१ को नक्सा भए पनि सो जग्गा खोला वा व्यक्तिको नाममा रहे–नरहेकोबारे स्पष्ट नभएको जनायो ।

खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । चार वर्षपछि कित्ता ११२० को १७ रोपनी १४ आनालाई बराबर दुई टुक्रा लगाएर कित्ता ११३० र ११३१ मा ८ रोपनी १५ आनाका दरले बनाए । उनले ५ असार, ०३५ मा कित्ता ११३१ श्रीमती विमला उपाध्याय (मालपोतको रेकर्डमा विमली) र कित्ता ११३० शिवबहादुर उप्रेतीको नाममा रजिस्ट्रेसन गराए ।

त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरै पटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको छ । हनुमन्ते खोला धार परिवर्तन गरेर अहिले व्यक्तिका निजी जग्गामा बगिरहेको छ । तर, आचार्यले अतिक्रमण गरेको खोलाको जग्गामा भने घरहरू बनिसकेका छन् । कतिपय ठाउँमा प्लटिङ भएका छन् । कतै कृषि उपार्जनका लागि टनेलहरू बनेका छन् ।

मालपोत कार्यालय भक्तपुरको ढड्डा पल्टाउँदा सो क्षेत्रमा अहिले आचार्यका कुनै पनि पारिवारिक सदस्यको नाममा जग्गा नदेखिने खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर