newskoseli.Com

को–को हुन् घुस्याहा ‘जनप्रतिनिधि’ ? स्थानीय तहका कर्मचारीसहित धमाधम पर्दै अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो ।

अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने ‘जनप्रतिनिधि’ धमाधम समातिन थालेका छन् । सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुई जनालाई ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काममा सहजीकरण गर्ने भन्दै ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, ११ माघमै सिन्धुलीको घ्याङलेख गाउँपालिका कार्यालयका इन्जिनियर दिलिपकुमार साहलाई १ लाख ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । उनले ट्रान्सफर जडानको विद्युतीकरण कार्य सम्पन्न भएपछि सेवाग्राहीसँग घुस मागेका थिए । उनलाई आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

यसैगरी, आयोगले २७ पुसमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) रामग्राम नगरपालिका– १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । नियमानुसार उपलब्ध गराउनुपर्ने सिफारिसका लागि सेवाग्राहीसँग घुस मागेको आरोप उनीमाथि लागेको छ । सिफारिस उपलब्ध गराइदिएवापत सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अवस्थामा ३ पुसमा अख्तियारले उनलाई वडा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीविरुद्ध २ लाख नै बिगो कायम गरी आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, अख्तियारले ८ पुसमा बर्दिया बढैयाताल गाउँपालिका– ६ वडा कार्यालय हाताभित्र रहेको उत्तर–पूर्वतर्फ भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन गाउँपालिका सचिवसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकाका तत्कालीन सचिव मणिराज पौडेल, खरिदार प्रदीप चौधरी, जिल्ला प्राविधिक कार्यालयका असिस्टेन्ट सब इन्जिनियर लोकबहादुर शाही र उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरीविरूद्ध १ लाख ८९ हजार ७ सय ५२ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरिएको हो ।

भवन निर्माणमा हुँदै नभएको कार्य गरेको, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार पारी झ्याल ढोकाको चौखट खर्चतर्फ कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी दिने–लिने गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

१० पुसमा आयोगले महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उनीविरुद्ध २९ पुसमा अदालतमा मुद्दा दर्ता गरिएको छ । विज्ञापनवापत भुक्तानी गरेको रकममा सेवाग्राहीबाट घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको टोलीले ३० हजार रुपैयाँ घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

१२ मंसिरमा काठमाडौं नगरपालिका– ५ का सचिव दिनेश बाँस्कोटालाई २५ हजार घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि घुस लिएको अभियोग उनीमाथि लागेको छ ।

त्यस्तै, १५ मंसिरमा ललितपुर महानगरपालिका– २८ का इन्जिनियर महेन्द्र महर्जनविरुद्ध अख्तियारले मुद्दा दर्ता गरिएको छ । उनलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

१५ मंसिरमै बाराको आदर्शकोतवाल गाउँपालिका– ६ का वडा सचिव रामएकवालप्रसाद यादव र कार्यालय सहयोगीविरुद्ध आर्थिक अनियमितता गरेको अभियोगमा १२ हजार ६ सय ४८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

२४ मंसिरमा सप्तरी महादेवा गाउँपालिका– ६ का वडासचिव नबोनाथ मिश्रलाई २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

अख्तियारले गत २७ मंसिरमा मोरङको जहदा गाउँपालिका– १ का वडाध्यक्ष उमेशकुमार शाहविरुद्ध २१ हजार बिगो कायम गर्दै मुद्दा दर्ता गरेको छ । उनीमाथि ग्राभेल सडक निर्माण योजना सम्झौता गरी कार्यान्वयन गर्दा घुस लिएको अभियोग दर्ता भएको छ ।

१९ असारमा अख्तियारले बाराको महागढीमाई नगरपालिका– ६ का अध्यक्ष रामजीप्रसाद बरैविरुद्ध २ लाख ७५ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । वडाध्यक्ष बरैले सांसद विकास कोषबाट आएको रकमले विद्यालयको कम्पाउन्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नुअघि नै विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेका अभियोग छ ।

८ असारमा अख्तियारले महोत्तरीको एकडारा गाउँपालिका– ४ का वडा सदस्य रामचन्द्र रायविरुद्ध ३६ हजार रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । धर्मशाला निर्माणको रकम निकासालाई सहज गरिदिन र काममा अवरोध नगर्न भन्दै सेवाग्राहीबाट घुस लिएको अभियोग उनीमाथि लागेको छ ।

१३ जेठमा अख्तियारले सप्तरीको सुरुंगा नगरपालिका– ५ का वडाध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो  । मोहियानी जग्गा छुट्याउन सिफारिस गरिदिने बहानामा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले मियाँलाई पक्राउ गरेको खबर नीराजन पौडेलको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर