newskoseli.Com

प्रत्येक ट्यांकरमा ३–३ वटा ताल्चा : इन्धन चोरी रोक्ने नयाँ काइदा !

ट्यांकरबाट ‘इन्धन चोरी नियन्त्रण गर्न’ नेपाल आयल निगमले प्रत्येक ट्यांकरमा तीन प्रकारका ताल्चा लगाउने भएको छ । निगमले दोस्रो चरणमा डिपोबाट पम्पसम्म इन्धन पुर्‍याउने ट्यांकरमा ताल्चा जडान गर्न लागेको हो ।

यसअघि पहिलो चरणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को सिलिगुढी, बरौनी र रक्सौल रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने करिव दुई हजार ट्यांकरमा ताल्चा जडान गरिएको थियो । अब दोस्रो चरणको ताल्चा जडान गर्ने कार्य सुरु गर्न लागिएको हो ।

निगमको इन्जिनियरिङ विभागका प्रमुख पूर्ण रिजालका अनुसार ट्यांकरमा ताल्चा जडानका लागि टेन्डर आह्वान गर्न सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको छ । रिजालले भने– ‘दुई सातापछि टेन्डर आह्वान गर्ने प्रक्रियामा पुगेका छौं, टेन्डर आह्वान गरी आगामी पाँच महिनाभित्रमा सम्पूर्ण ट्यांकरमा ताल्चा जडान गरिसक्छौं ।’

उनका अनुसार पहिलो चरणअन्तर्गत भारतबाट नेपालको डिपोसम्म आउने ट्यांकरमा जडान गरिएको ट्यांकरमै दोस्रो चरणमा पुनः तीन प्रकारका ताल्चा जडान गर्न लागिएको हो । पहिलो चरणको लकिङ प्रणाली जडानपश्चात निगमले इन्धनको चोरीसम्बन्धी घटना नियन्त्रणमा आएको दाबी गरे पनि भारतबाट इन्धन ल्याउने ट्यांकरबाट २ हजार ५ सय लिटर डिजेल चोरी भएको थियो ।

दोस्रो चरणको ताल्चा प्रणाली र तेस्रो चरणको ट्र्याकिङ प्रणाली जडानपश्चात इन्धनको चोरी नियन्त्रण हुने निगमको दाबी छ । ट्यांकरमा ताल्चा प्रविधि जडान नहुँदासम्म चालकले ‘ट्याम्प्रेचर लस’ का नाममा २० हजार लिटरको ट्यांकरबाट झन्डै ४० देखि १०० लिटरसम्म चोरी गर्दै आएका थिए ।

‘पहिलो चरणको ताल्चा जडानपश्चात चोरीमा धेरै हदसम्म नियन्त्रण आएको छ’, निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने– ‘तर, पूर्णरूपमा नियन्त्रण गर्न दोस्रो चरणको ताल्चा जडानका साथै ट्यांकर ट्र्याकिङ गर्ने प्रणाली पनि जडान गर्नु आवश्यक छ ।’ आयल निगमको नयाँ प्रयोगसम्बन्धी यो खबर राजेश बर्माको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर