newskoseli.Com

डा. ऋषिराज बराललाई २५ हजार राशिको ‘हृदयचन्द्रसिंह सम्मान’

चर्चित मार्क्सवादी साहित्यकार, लेखक एवं बुद्धिजीवी डा. ऋषिराज बराललाई ‘हृदयचन्द्रसिंह सम्मान’ द्वारा सम्मानित गरिने भएकाे छ । नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत डा. बराललाई ‘साहित्य सदन नेपाल’ ले यस पटकको ‘हृदयचन्द्रसिंह सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो ।

सो संस्थाका महासचिव तथा कवि मित्रलाल पज्ञानी संयोजक तथा वरिष्ठ आख्यानकार नारायण ढकाल र कवि तथा सामाजिक अभियन्ता वसन्त रिजाल सदस्य रहेको पुरस्कार समितिको हालै बसेको बैठकले सो निर्णय गरेको जानकारी संयोजक तथा महासचिव पंज्ञानीले दिएका छन् । वि.सं. २०४२ मा स्थापित सो संस्थाले प्रदान गर्ने पुरस्कार राशि २५ हजार रुपैयाँ छ ।

वि.सं. २०५७ देखि हालसम्म यो पुरस्कार साहित्यकार शान्तदाश श्रेष्ठ, समालोचक राजेन्द्र सुवेदी, कवि तथा निबन्धकार विमल निभा, आख्यानकार नारायण ढकाल, समालोचक निनु चापागाईंलगायतका १० स्रष्टाले प्राप्त गरिसकेका छन् । गतवर्ष सो पुरस्कार ‘चैतन्य’ नामले साहित्यिक क्षेत्रमा स्थापित वरिष्ठ सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ लाई प्रदान गरिएको थियो ।

आख्यानकार तथा समालोचक डा. बरालका २ दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । राजनीति तथा पत्रकारिताको क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ ।

डा. बरालका प्रकाशित पुस्तकहरूः

उपन्यास

१. भावना (२०३४)
२. कमरेड हुतराज राजधानी प्रस्थान (२०४८)
३. समरगाथा (२०६४)

कथासङ्ग्रह

१. गाउँको कथा भन्छु है त (२०४२)
२. भग्नावशेष (२०४४)
३. बयान (२०५२)
४. वनमान्छेको कथा (२०५४)
५. सैन्यउपहार (२०५८)
६. पैंयु फुल्न थालेपछि (२०६३)
७. ऋषिराज बरालका प्रतिनिधि कथाहरू (२०६७)
८. बर्की नम्बर १३९९९ (२०७१)

निबन्ध

१. फेरि लालभन्ज्याङमा उभिएर (२०६२)
२. प्रियजनहरूको सम्झनामा (२०६४)
३. कुहिरो र घोडचढीहरू (२०६६)

दैनिकी

१. सलाम रोल्पा (२०६९)

समालोचना

१. प्रगतिवाद र नेपाली उपन्यास (२०४०)
२. प्रगतिवाद (२०४८)
३. मार्क्सवाद र उत्तरआधुनिकतावाद (२०५२)
४. उपन्यासको सौन्दर्यशास्त्र (२०५६)
५. सङ्गीत र सौन्दर्य (२०६३)
६. उत्तरआधुनिकतावाद र समकालीन यथार्थ (२०६३)
७. सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३)
८. साहित्य र समाज (२०६४)
९. सत्ता र संस्कृति (२०६६)
१०. मार्क्सवाद र सबाल्टर्न अध्ययन (२०७३)

त्यसैगरी, राजनीतिक क्षेत्रमा समेत डा. बरालका ‘नेपाली जनयुद्ध’‘आजको साम्राज्यवाद र माओवादी आन्दोलन’ जस्ता बहुचर्चित पुस्तकहरू पनि प्रकाशित छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर