newskoseli.Com

कोभिड–१९ सतर्कता : ‘हाई एलर्ट’ मा सबै सुरक्षा निकाय !

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको ‘उच्च जोखिम’ मा रहेको भनिएको नेपालमा तीनै तहका सुरक्षा निकाय ‘हाई एलर्ट’ (उच्च सतर्कता) का साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमा समेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड र क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमा क्षेत्रको निगरानी गर्ने काम गरिरहेका छन् ।

नेपाल प्रहरीले कोभिड– १९ कै लागि अहिले १३ हजारभन्दा बढी जनशक्तिलाई प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । ‘आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण तयारी गरेको छ’– प्रवक्ता क्षेत्रीले भने । जिल्ला र केन्द्रमा कोरोनासम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको जानकारी पनि उनले दिए । प्रहरीको २ नम्बर गणमा ५० शय्याको क्वारेन्टाइन भवन र नेपाल प्रहरी अस्पतालमा २० शय्याको आइसोलेसन वार्ड तयार पारिएको जानकारी उनले दिए ।

शुक्रबार भिडियो कन्फ्रेन्समार्फत सातै प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको जानकारी उनले गराए । सीमा क्षेत्रमा समेत कतिपय ठाउँमा प्रहरीले आफ्नै तरिकाले हेल्थ डेस्क स्थापना गरेको र कतिपय स्थानमा सशस्त्र प्रहरीसँगको समन्वयमा डेस्क स्थापना गरेर निगरानी भइरहेको बताइएको छ । कतिपय स्थानमा स्वास्थ्य संस्थासँग समन्वय गरेर डेस्क स्थापना गरिएको छ । दिपायल, नेपालगञ्ज र सप्तरीमा रहेको प्रहरी अस्पताल पनि आवश्यक तयारीका साथ बसेको उनले बताए ।

सशस्त्रको पनि यस्तो छ तयारी

सशस्त्र प्रहरी बल पनि कोभिड– १९ को प्रतिरोधका लागि तयारी जुटेको छ । नेपालमा कोरोनाको सङ्क्रमण नभए पनि सम्भावित जोखिम रोक्न र रोग भित्रिएमा तत्काल परिचालन हुने गरी सशस्त्र प्रहरीले तयारी गरेको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिए । आवश्यक परेको खण्डमा एक हजार व्यक्तिलाई उपचार गर्न सक्ने गरी क्षेत्र छुट्याएर आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक तयारी थालिएको उनले जानकारी दिए ।

नेपाल प्रहरी तथा विभिन्न स्वास्थ्य संस्थासँगको समन्वयमा सीमा क्षेत्र र धेरै मानिसको आवतजावत हुने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा आसपास १ सय ४२ स्थानमा हेल्थ डेस्कमार्फत सेवा दिइरहेको जानकारी श्रेष्ठले दिए ।

नेपाली सेनाको कस्तो छ तयारी ?

नेपाली सेनाले पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रमा केही दिनअघि मात्रै सीमित स्रोत–साधनका बीच कसरी काम गर्न सकिन्छ भनेर पूर्वाभ्यास नै गरिएको थियो । काठमाडौंमा ५४ टेन्ट बनाएर सफल अभ्यास गरिएको थियो । नेपालगञ्ज, इटहरी र पोखरामा रहेको क्षेत्रीय अस्पतालमार्फत समेत आफ्नो तयारी गरेर सेना बसेको छ ।

सातै प्रदेशका पृतनामा रहेका साना अस्पतालले प्रदेश सरकारसँग मिलेर आइसोलेसन र क्वारेन्टाइन बनाएको पाण्डेले बताए । पूर्वी पृतनाले प्रदेश सरकारसँग मिलेर मोरङ, झापा र उदयपुरमा झन्डै ४ सय शय्याको छुट्टै क्याम्प (आइसोलेसन वार्ड) बनाइसकेको जानकारी प्रवक्ता पाण्डेले दिए ।

अन्य पृतनाले पनि आवश्यक तयारी गरिरहेको छ । केन्द्रबाट पठाउने स्रोत–सामग्रीहरु पठाउने क्रम जारी रहेको र भूकम्पका बेलाका सामग्री, टेन्ट सबै प्रयोग हुँदैछ । सेनाले सबै पृतनालाई आकस्मिक कोषका रुपमा २५ लाख रुपैयाँका दरले दिइसकेको छ । त्यसबाट तयारी भइरहेको छ । सरकारले आइसीयूसहितका २० शय्या बनाउन निर्देशन दिएअनुसार वीरेन्द्र सैनिक अस्पतालमा त्यसको तयारीको काम भइरहेको प्रवक्ता पाण्डेले बताए ।

उनले भने– ‘हाम्रा सबै ब्यारेक, गणहरु ‘लकडाउन’ जस्तै छन्, बिदा भएर आउनेलाई अलग्गै क्वारेन्टाइनमा राखिन्छ, बिदा–छुट्टी सबै बन्द भइसक्यो, आन्तरिकसँगै बाह्य सावधानी, रोकथाम र नियन्त्रणका लागि सेना पूर्ण तयारीमा छ ।’ कोरोनाभाइरस सङ्क्रमण (कोभिड– १९) को रोकथाम र नियन्त्रणका लागि ‘कोर’ समूह तयार पारिएको जानकारी उनले दिए । कुन ब्यारेक र गणमा सिपाही र कमान्डर को–को खटिने भन्ने समेत सबै तयारी भैसकेको छ, सेनाका चिकित्सक र स्वास्थ्यकर्मी कसरी परिचालन हुने, आइसोलेसनमा कसरी काम गर्ने, क्वारेन्टाइनमा सेनाको भूमिका कस्तो रहन्छ इत्यादि सबै कुराको तयारीमा नेपाली सेना रहेको छ । केन्द्रमा १० शय्यासहित विभिन्न स्थानमा गरी ५२ श्ययाको आइसोलेसन वार्ड समेत सेनाले तयारी अवस्थामा राखेको जनाइएको छ ।

सरकारको पनि उच्च सतर्कता

कोभिड– १९ भित्रन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । मुलुकमा आइतबार (भोलि ) देखि २१ चैतसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरिसकेको छ । यस्तै, १० चैतदेखि लागू हुने गरी केही अवधिका लागि लामो दुरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गरेको छ ।

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्न सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सरकारले आह्वान गरिसकेको छ । ९ चैतदेखि १८ चैतसम्म हवाईमार्ग हुँदै नेपाल आगमनमा रोक लगाउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारै गरिसकेका छन् ।

सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने र देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोनाभाइरसलाई परास्त गर्न उनले आह्वान गरेका छन् ।

वत डिसेम्बर ३१ मा चीनको वुहानमा पहिलो पटक मानिसमा कोभिड–१९ देखिएको थियो । यो रोग कोरोनाको सातौं प्रजातिमा पर्छ । जनावरबाट मानिसमा सरेको भनिए पनि कुन जनावरबाट सरेको भनेर अझै पत्ता लागेको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म १ सय ७७ मुलुकका २ लाख ३४ हनार ७३ जना यसबाट सङ्क्रमित भइसकेका छन्, जसमध्ये ९ हजार ८ सय ४० जनाको मृत्यु भइसकेको छ ।

नेपाल कोभिड–१९ को उच्च जोखिममा रहेको बताइए पनि अहिलेसम्म यहाँ यसको सङ्क्रमण देखिएको छैन । भारतको सीमा नाकाबाट बढी जोखिम रहेकाले सरकारले अहिले सीमामा उच्च निगरानी बढाउँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर