newskoseli.Com

अमेरिकामा कोरोनाबाट मर्ने हजार नाघे : राष्ट्रपति भन्छन्– ‘हाम्रो मुलुक बन्द गर्न बनाइएको होइन’

कोरोनाभाइरसको महामारीका कारण संयुक्त राज्य अमेरिकामा मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

तैपनि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ‘हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन’ भन्दै अमेरिकी नागरिकलाई ‘आडभरोसा’ दिने प्रयत्न गरिरहेका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्य समस्यालाई ध्यान दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ ।

सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनुअघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो । अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झन्डै ७० हजार व्यक्ति संक्रमित छन् ।

यस्ताे छ राेकथामकाे पहल

कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाए झैं अमेरिकाका धेरैजसो राज्य एवं सहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् । अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क सहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ सय हाराहारी मानिसको मृत्यु भएको छ ।

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले कोरोना प्रभावितको उपचारका लागि शैय्याहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । केही साताभित्रै बिरामीको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि उनीहरुले आह्वान गरिरहेका छन् । न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दुरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ । कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तिमा १५ दिनसम्म निश्चित दुरी बनाएर रहन राष्ट्रपति ट्रम्पले आग्रह गरेका छन् । मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न पनि उनले अनुरोध गरेका छन् ।

काेराेनामा पनि राजनीति

राष्ट्रपति ट्रम्पले बुधबार ट्विट गर्दै केही सञ्चार माध्यममाथि पुरानै शैलीमा आक्षेपपूर्ण तरिकाले भनेका छन्– ‘केही मिडियाले मलाई आगामी चुनावमा विजयी हुन नदिन कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुनै हौवा फैलाइरहेका छन् ।’

राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको स्वास्थ्य र सुरक्षाको साटो अर्थव्यवस्थालाई बढी प्राथमिकतामा राखेको डेमोक्र्याट्स पार्टीले बताएको छ । ‘म भन्न चाहन्छु, अर्को शुक्रबारदेखि नै काममा फर्कौं’– पूर्वउपराष्ट्रपति जो बाइडेनले भने ।

सिनेटले अनुमोदन गरेको आर्थिक प्याकेजको राम्रो कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र आवश्यक रहेकामा बाइडेनले जोड दिए । उनले भने– ‘राहत प्याकेजको रकम जरुरतमा परेका सबै मानिससम्म जतिसक्दो चाँडो पुग्नु पर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर