newskoseli.Com

लाल पानी–ट्याङ्की

संसद् भवन
नाटक भवन हो
यहाँ कहिले रामलीला चल्छ
यहाँ कहिले रासलीला चल्छ
रामलीला र रासलीलाको फ्युजन
यहाँ सधैं लक्ष्मी–लीला चल्छ ।

जब यहाँ रामलीला चल्छ
सांसदहरू सेल्फ–अपहरणमा पर्छन्
जब यहाँ रासलीला चल्छ
सांसदहरू जुहारी खेल्छन्
जब यहाँ लक्ष्मी–लीला चल्छ
सांसदहरू मध्यरातमा
मौनब्रत बस्छन्
जसो कि महाकाली मञ्चन ।

संसदीय रडाको
स्याउला–युद्ध हो
कसैलाई एक डोको स्याउला चाहिएको छ
कसैलाई दुई डोको स्याउला चाहिएको छ
कसैलाई डोकाका डोका स्याउला चाहिएको छ
सिकन्दर यो धर्तीलाई अन्तिम बिदाइ दिंँदै गर्दा
खालि हात गएका थिए
यी स्याउला बोकेर जानेछन्
यहाँ प्रत्येक संसदीय जुहारी
स्याउला–जुहारी हो
जसो कि प्रोक्सी वार ।

प्रोक्सी वार
जहाँ देखिने र खेलिने मञ्चन अलग हुन्छ
यो अध्यादेश–जुवारी
एमसीसी मञ्चनको
एउटा सानो स्क्रिप्ट हो
यो महाकाली मञ्चनको
कास्टिङ मात्र हो ।

यो अध्यादेश आउनु र जानु
जनतामाझ फालिएको
मन्दविष हो
ताकि जनता भोको पेट
मन्दविष खाइरहून्
संसदभित्रका छेपारा
स्याउला बटुलेर
पानी–ट्याङ्कीमा हालिरहून्
कालो धन विदेशतिर पठाइरहून्
लाल–ख्वामित !
तपाईंको लाल–सत्ता सदा जीवित रहोस्
लुई सोह्रौँ महाराज कि जय होस् ख्वामित !

लाल ख्वामित !
यो पृथ्वीको डल्लो
तपाईंकी आमाका गर्भाशयबाट
फ्वात्त झरेको डल्लो हो ख्वामित
तपाईं जोतिरहनुहोस् ख्वामित ।

लाल ख्वामित !
जब जनगणना हुन्छ
यो देशका जनता
राता भेडा–बाख्रा हुन् ख्वामित
तपाईं जोतिरहनुहोस् ख्वामित ।

लाल ख्वामित !
जब जनयुद्ध भयो
यो देशका जनता
दुईखुट्टे राता भेडा–बाख्रा भए
आज तिनका लालसलाम गर्ने हात छैनन्
आज जनतासँग पासो लगाउने हात छैनन्
आज जनतासँग बन्दुक बोक्ने हात छैनन्
जनताका हातहरू जनयुद्धको मोर्चामा गुमे
आज जनता कुँजा भए
कुँजा जनताको भोको पेटमा धाँजा फाटेको छ
तपाईं धाजा परेको भोको पेटमा
हलो चलाउनुहोस् ख्वामित !
तपाईं भोका पेटलाई
आतङ्कवादी घोषणा गर्नुहोस् ख्वामित ।

तपाईं भोको पेटलाई
स्याउली डोकाले
थुनिदिनुहोस् ख्वामित !
तपाईं भोको पेटलाई स्याउली डोकाले
बन्दी बनाउनुहोस् ख्वामित !
कुनै दिन
भोका पेट बन्दी बिराला होलान् ख्वामित !
लाल ख्वामित महाराज कि जय होस् ख्वामित !
लाल ख्वामित ! तपाईंको लालसत्ता सदा जीवित रहोस् ख्वामित ।

लुई सोह्रौँ महाराज कि जय होस् ख्वामित !
तपाईंको लाल–गिलोटिन सदा जीवित रहोस् ख्वामित !
तपाईंको जय होस् ख्वामित !

१५ वैशाख, २०७७

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर