काँठकी महिला । अझ त्यसमा पनि बुहारी भएपछि त कामको बोझ झनै बढ्ने नै भयो । अझ उनका त अरू दुईवटा परिचय थपिएका थिए– एउटा, समाजले थपिदिएको थियो– ‘दलित’ र अर्को, राज्यले थपिदिएको थियो– ‘आतङ्ककारीकी श्रीमती’ । राज्य र समाजले केवल परिचय मात्र थपिदिएका थिएनन्, परिचयसँगै थपिदिएका थिए दुःख पनि ।
बिहान सबेरै उठ्यो घर–दैलो लिपपोत गर्याे । घरमा रहेका वस्तुभाउको कुँडो–पानी गर्याे । खाना बनाएर सबैलाई खुवायो, परेका बेला मेला–पर्व पनि गर्याे । बस्, दुर्गााको दैनिकी यसरी नै बितिरहेको थियो । दुर्गाको मात्र होइन, काँठका औसत महिलाको दैनिकी यस्तै देखिन्थ्यो ।
बेलुका काँठबाट सहर हेर्दा कम्ति राम्रो देखिँदैन । तिहारको लक्ष्मीपूजाका दिनजस्तै झलमल्ल बलेको सहरमा सधैं रमाइलो देखिने । चुठ्न रछ्यानमा निस्कँदा होस् वा भाँडा माझ्न निस्कँदा होस्– सहरको रमाइलो सधैं देखिन्छ । हिँडदा एकाध घन्टामा पुगिने सहर र काँठमा कति धेरै फरक छ ! छाक टार्न कति मुश्किल । छैनभन्दा घर छ, बारी र खेत समेत छ तर न खेतबारीको उब्जनीले खान पुग्ने न त रोजगारी नै । यसो सहर झर्याे, पाए सानोतिनो काम गर्याे र त्यही पैसाले गुजारा चलायो । जिन्दगी यसरी नै चल्दै थियो ।
श्रीमानले सहरबाट ज्यालामा ल्याएर केही कपडा सिलाउँथे । गाउमा बिस्ट पनि थिए । जीवनले सुख थाहा नपाए पनि जीवन चलेकै थियो; घर धानिएकै थियो । उनका श्रीमान् हर्कको माओवादीप्रति झुकाव थियो । ‘म त माओवादीमा भूमिगत भएर जान्छु है दुर्गा’– बेला–बेलामा उनले नभनेका पनि होइनन् । तर, सधैं झैं दुर्गाले आँखाबाट पिलपिल आँशु झारेपछि ल ल जान्नँ भन्दथे ।
तर, एक दिन भने सिरानीमा सानो चिठी छाडेर हर्कबहादुर उर्फ हर्के साँच्चै नै पो माओवादीको पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत भए ।
‘दुर्गाको श्रीमान् हर्के त माओवादीमा गयो नि’– गाँउमा गाइँगुइँ हल्ला चल्न थाल्यो । सेना र प्रहरीले घरमा छापा मार्ने क्रम पनि बढ्यो । मध्यरातमा मारिने छापा र छापा मार्ने क्रममा सुरक्षा फौजले प्रयोग गर्ने भाषा र व्यवहारले घरमा एक प्रकारको आतङ्क नै सिर्जना नै गर्दथ्यो । गाउलेका लागि दुर्गा ‘अछूत’ त पहिलादेखि नै थिइन्, अझ श्रीमान् माओवादी भएपछि त उनलाई गाँउलेले एउटा अपराधीकी श्रीमती हो भनेजस्तो व्यवाहार गर्न थाले ।
घरमा श्रीमान् हुदाँसम्म जेनतेन घर चलेकै थियो । श्रीमानले कपडा सिलाएर घर चलाएकै थिए । श्रीमानको अनुपस्थितिमा भने घरखर्च चलाउने दायित्व दुर्गाकै काँधमा आइपुग्यो । दुःखका दिन झन् बढेर ग्ए । श्रीमानले घर चलाउन भरथेग नगरेको भन्दा पनि दुर्गालाई अर्को पिरलो थपियो– कतै श्रीमानलाइ केही भैहाल्यो भने… ।
सम्झँदै उनको आङ सिरिङ्ग हुन्थ्यो । जिउ त्यसै फुलेर आउँथ्यो । अनि आँखा चिम्लिएर सम्झे जति देवताका नाम लिएर मनमनै भन्थिन्– ‘भगवान्, त्यस्तो नहोस् !’
उनलाई राजनीतिप्रति त्यति चासो थिएन । चासो नभएपछि राजनीति बुझ्ने कुरा पनि भएन । उनी त शुद्ध गृहणी थिइन् । साँच्चै भन्नुपर्दा उनी समाचार समेत सुन्दैनथिन् । श्रीमान् भूमिगत भएपछि भने राजनीतिप्रति उनमा केही चासो बढ्यो । प्रायः नबिराई समाचार सुन्न थालिन् । समाचार सुन्न बस्दा उनको अनुहारमा एक प्रकारको भय नाचिरहेको हुन्थ्यो भने समाचार सकिँदा लामो सास फेरेर उठ्दथिन् । र, मनमनै भन्थिन्– धन्न, आज चैं नराम्रो समाचार सुन्नुपरेन ।
श्रीमान भूमिगत भएपछि उनी र श्रीमानबीच एकदमै कम मात्र भेटघाट हुन थाल्यो । भूमिगतरुपमा हुने यस्तो भेटघाटको व्यग्र प्रतीक्षामा भए तापनि भेट हुँदा चाहिँ भन्छु भनेर आँटेका कुरा सबै भन्न सक्दिनथिन् । श्रीमान् भूमिगत भएदेखि उनको र श्रीमानको केवल तीन पटक मात्र भेट भयो । किन–किन श्रीमान् भेट्दा उनका आँखामा पहिल्यै आँशु आउँथे ।
तेस्रो पटकको भेट काठमाडौंको कुनै कमरेडको डेरामा भएको थियो । ‘तपाईं यस्तो अप्ठ्यारो बाटोमा किन हिँडेको ? मलाइ त डर लागिरहेको छ– कतै तपाईंलाई केही भयो भने हाम्रो के हालत हुन्छ ?’ टिलपिलाउँदा आँखासहितको टाउको श्रीमानको काखमा बिसाउँदै उनले सोधिन् ।
‘हेर सानु ! कसलाई पो अप्ठ्यारो बाटो हिँडन मन हुन्छ र ?’ जवाफ दिँदै उनका श्रीमानले भने– ‘क्रान्ति रहर होइन, बाध्यता हो । समाजमा रहेको शोषण र अत्याचार टिकाउन राज्यले बन्दुकको सहारा लिएको छ, त्यसका विरुद्ध हामीले पनि हतियार उठाएका हौं । हामीलाई नै हेर न । हामी दलितको कोखबाट रोजेर जन्मिएका हौं र ! कुकुरले पाउनेजति सम्मान पनि यो समाजले हामीलाई दिँदैन । हामी रातदिन काम गर्छौं तैपनि गरिब छौं । तर, काम नै नगरिकन पनि केही मानिस भने धनी छन् । गरिब–निमुखा जनताले पनि काम पाउनुपर्छ, तिनको पनि इज्जत हुनुपर्छ, सबैका छोराछोरीले समानरुपमा पढने अवसर पाउनुपर्छ, सबैले उपचार पाउनुपर्छ भनेर हो हामीले यो क्रान्ति गरेको । पोहर साल पल्लाघरे काका मुटुको भल्ब फेर्न नसकेर मरेको देखिनौ र ? लुटेराहरुको राज्यमा गरिबहरुलाई त बाँच्ने अधिकार समेत छैन । तर, हेर एक दिन गरिबहरुको राज्य बनाउछौं हामी’– निश्चयका साथ उनले भने ।
‘गरिबको पनि दिन फिर्ला र !’ अनिश्चयको भावमा दुर्गाले प्रश्न गरिन् । ‘आउँछ नि लाटी, आउँछ । त्यही ल्याउन त हामी हिँडेको’– हर्कबहादुरले आश्वस्त पार्न खोजे ।
‘घरमा बा–आमा, छोरा–छोरी सबै न्यास्रिएका छन्, तपाईं यता हुनुहुन्छ । कतै तपाइलाई केही भयो भने… मलाई त यही कुराको मात्र डर लागिरहेको छ’– दुर्गाले उही कुरा दोहोर्याइन् ।
‘धत् लाटी ! मलाई केही हुँदैन । कि म सहिद बन्छु नत्र क्रान्ति जितेर फर्कन्छु । यो क्रान्तिमा हामी सबै लाग्नुपर्छ । पीर नगर, कसै न कसैले त देश र जनताको पक्षमा लडनैपर्छ,’ कुरा टुंग्याउँदै हर्कबहादुरले भने– ‘अब छुट्टिऊँ होला । म विशेष काममा जानु छ । बा–आमा र छोरा–छोरीलाइ सम्झना सुनाइदिनू ।’ हर्कबाहादुर दुर्गासँग छुट्टिए ।
दुर्गासँग हर्कबहादुर छुट्टिएको केही महिनापछि रेडियोबाट समाचार आयो– ‘हर्कबहादुर उर्फ हर्के नाम गरेको आतङ्कककारी सुरक्षाकर्मीसँगको दोहोरो मुडभेडमा मारियो ।’
जुन खबर सुन्नुनपरोस् भनेर दुर्गा सधैं समाचार सुन्दथिन्, आज त्यही समाचार सुन्नुपर्याे । उनका लागि योभन्दा खराब र नरमाइलो खबर यो दुनियाँमै केही थिएन । राज्यले आतङ्ककारी भनेर मारेको हर्के उनको जीवनको आस्था, भरोसा र जीवन थियो ।
बलिन्द्र धारा आँशु खसाल्दै बिलौना गर्न थालिन् । उनीसँग सोध्दै नसोधी समाजले उनको प्यारो हर्केले दिएको चुरा–पोते खोलिदियो । राज्यले चाहिँ उनको भविष्य नै खोसिदियो । समाजले ‘विधवा’ को उपमा दियो र किरिया बसाल्यो । किरिया बसेकै बेलामा हर्केको पार्टीले गोप्य रुपमा एउटा चिठी पठायो । त्यसमा लेखिएको थियो– ‘गिरफ्तारीमा परेको एक हप्तापछि राज्यले कमरेड हर्कको हत्या गर्याे । कमरेड हर्कको शहादतको पार्टीले उच्च मूल्याङ्कन गरेको छ । उहाँको सपना पूरा गरिनेछ ।’
किरिया बस्दाका तेह्र दिनमा दुर्गाको मनले धेरै कुरा सोचे । मेरो प्यारो हर्केको सपना अब के हुन्छ ? के हुन्छ अब गरिबको राज्य ? उनको मथिङ्गलमा हर्केले भनेका कुरा घरीघरी नाचिरहे– ‘लाटी ! हामी सबै क्रान्तिमा लाग्नुपर्छ ।’
किरिया सकेको भोलिपल्ट सासु–ससुरालाई छोरा–छोरी जिम्मा लगाएर मुक्ति ल्याउने हर्कबहादुरको अधूरो सपना पूरा गर्ने सङ्कल्पसहित उनी पार्टीको सम्पर्कमा गइन् । आफ्नो प्यारो मान्छे, हर्कबहादुरको अधुरो सपना पूरा गर्ने उद्देश्यका साथ दुर्गा ‘होलटाइमर’ भइन् ।