newskoseli.Com

भेडाल्याण्ड

शिक्षा र भिक्षाले बिग्रेको एउटा गाउँ छ
गाउँको नाउँ हो– भेडो गाउँ ।
गाउँभित्र तपाईं र म मात्रै होइनौं
अरु थुप्रै अग्रज भेडाहरु पनि छन्
तिनै अग्रजको अग्रगतिले गाउँ बिग्रेको
तर, भेडो के–कतिले बिग्रेको, थाहा छैन
आफूले त अहिलेसम्म बिग्रिने मौका नै पा’छैन ।

मौकामा चौका हान्दछौं
मुखले गाली गर्दै हामी मनले मान्दछौं
सुरुमा छानिएका भेडा राम्रै देखिन्छन्
ती तपाईं–हाम्रै देखिन्छन्
पछि गएर न त हामीसँग पालिन्छन्
न त हामीले फालेर फालिन्छन्
जति फाल्यो, त्यति टाँसिदै आउँछन्
जति टाँसियो, त्यति गाँसिदै आउँछन् ।

मलाई आफ्नो कम र भेडाको ज्यादै चिन्ता लाग्छ
छिमेकीले दाना–पानी नदिएर भेडा भोकै पर्लान् कि
त्योभन्दा ठूलो चिन्ता भेडा–भेडा मिलेर
पूरै गाँउलाई ‘भेडाल्याण्ड’ घोषणा गर्लान् कि !

भोका र धोकाले बिग्रेको एउटा देश छ
देशको नाम हो– भेडो देश
देशभित्र तपाईं र म मात्रै होइनौं
अरु थुप्रै सुन्दर भेडाहरु पनि छन्
तिनै सुन्दर–सुन्दरको सल्लाहले देश बिगार्छ
तर, भेडो कसले बिगार्छ, थाहा छैन
आफूले त अहिलेसम्म बिगार्ने मौका नै पा’छैन ।

सुन्दर भेडाको अन्त कतै छैन होला देश
देशभित्रै नक्कल गर्छन् देशबाहिरको भेष
भन्छन्– देश बनाउनु छ भनेर
त्यही बनाउनु छ भनेर नै हामीले भेडामाथि विश्वास गर्‍यौं
हामीले भन्यौं– ‘भेडो आऊ, देश बनाऊ’
भेडाले भन्यो– ‘संसारका सबै भेडाहरु एक हुने
पुराना भेडाले मिलेर बिगारेको देश नयाँ भेडाले मिलेर बनाउने’
खुशी थियौं, उन्नत जातका भेडा झरे त्यसमा
हेर्दाहेर्दै भेडो शिक्षा लागू गरे देशमा ।

आफ्नो अडान राखेर अरुको अडान हेर्न जानिसकेम्
थोरै लचकता देखाएर स्वाट्टै अडान फेर्न जानिसकेम्
बस्न सिकाए अडानमा, खान सिकाए अडान
धेरैजसो पचाएर थोरै हामीले छेर्न जानिसकेम् ।

देशैमाथि पनि कहिले, चढ्न खोज्छन् भेडा
नहिँडेर सोझो बाटो, लड्न खोज्छन् भेडा
एकोहोरो भेडोजस्तै, छैनन् कुनै भेडा
आफ्नै बगाल छुट्याएर बनिदिन्छन् टेढा ।

मलाई आफ्नो कम र भेडाको ज्यादै चिन्ता लाग्छ
हिसाब–किताब नमिलेर भरे भोकै पर्लान् कि !
त्योभन्दा ठूलो चिन्ता, भेडा–भेडा नमिलेर
पूरै देशलाई ‘भेडाल्याण्ड’ घोषणा गर्लान् कि ’

चिटिङ र मिटिङले बिग्रेको एउटा गोठ छ
गोठको नाउँ हो– भेडो गोठ
गोठभित्र तपाईं र म मात्रै होइनौं,
अरु थुप्रै ‘जनवादी’ भेडाहरु पनि छन्
तिनै ‘जनवादी’ को मनोवादीले गोठ बिग्रेको
तर, भेडो कुनचाहिँ हो बिग्रेको, थाहा छैन
आफूले त अहिलेसम्म सोधेर पत्ता ला’छैन ।

भेडाको धर्म हो चर्नु
चर्न स्वतन्त्र पाउनु ‘भेडाल्याण्ड’ मा भेडाको नैसर्गिक अधिकार मानिन्छ
सुरक्षा नहुँदा गोठको, ठेगान नहुँदा ओठको
चर्न पाउँछन् चर्छन्,
गाउँ, देश, गोठ, घर– भेडाकै छ राज
भेडाको राज देखेपछि लाग्ने गर्छ लाज ।

भोकमरीमा चरुन् भेडा गरिबीमा चरुन्,
तँछाडमछाड गर्दै भेडा अशान्तिमा चरुन्
योजनामा चरुन् भेडा, व्यवस्थामा चरुन्
धर्म, जाति, महिला भन्दै संविधानमा चरुन्
महामारीमा चरुन् भेडा, कोरोनामा चरुन्
एक्लाएक्लै भए फेरि, मिलाएरै चरुन् ।

मलाई आफ्नो कम र भेडाको ज्यादै चिन्ता लाग्छ
चर्नलाई आज मिलेका भेडा भोलि नै झगडा गर्लान् कि !
त्योभन्दा ठूलो चिन्ता– भेडा, भेडासँग नमिलेर
पूरै गोठलाई ‘भेडाल्याण्ड’ घोषणा गर्लान् कि ’

छाना र मानाले बिग्रेको एउटा घर छ
घरको नाँउ हो– भेडो घर
घरभित्र तपाईं र म मात्रै होइनौं
अरु थुप्रै वरिस्ठ भेडाहरु पनि छन्
तिनै वरिस्ठको बठ्याईंले घर बिग्रेको
तर, भेडो के–कतिले बिग्रेको थाहा छैन
आफूले त अहिलेसम्म बिग्रिने तरिका नै पा’छैन ।

घर बिग्रिनु, बिगारिनु वा बनाउन चाहेर सिँगारिनुमा
भेडाकै प्रमुख हात छ
भेडो संसारमै अचम्मको जात छ ।
भेडो मान्छेजस्तो छैन
तर, ‘भेडाल्याण्ड’ को नियम कस्तो छ ?
मान्छे ठ्याक्कै भेडोजस्तो छ ।
चुनावमा व्यक्ति किनिन्छन् भेडा झैं
विदेशमा व्यक्ति बेचिन्छन् भेडा झैं
वृद्ध बा–आमाको र स–साना केटाकेटीको
रित्तो एउटा घर भयो
हेर्दाहेर्दै भेडा उत्पादनमा घर पूरै आत्मनिर्भर भयो ।

जीवन जिउने राजनीतिमा कला देख्छन् भेडा
आफ्नोभन्दा अन्तै राम्रो थला देख्छन् भेडा
छलाङ मार्छु भन्दै थियो जुन भेडाले पहिले
फेरि क्रान्ति गर्दै होला त्यही भेडाले अहिले ।

समृद्धिको यात्रामा छन् भेडा हाम्रा घरका
उस्तै परे कुराभन्दा कामै गर्छन् चर्का
अझैसम्म हामीसँग घर छँदै छ
प्रतिभाशाली भेडाहरु छ्न्
सबै भेडालाई एकमुष्ठ एक मुड्की शुभकामना पनि छ ।

भेडाकै होओस् उन्नति, भेडाकै होओस् भलाइ
एउटै मात्र चिन्ता लागिरहन्छ मलाई
बाचा सम्झाई अलपत्र पारिन्छन् कि कतै !
चर्न जाँदा हाम्रा भेडा मारिन्छन् कि कतै !

मलाई आफ्नो कम र भेडाको ज्यादै चिन्ता लाग्छ
अल्झिएर दाम्लो आफ्नै, कुनै भेडा मर्लान् कि !
त्योभन्दा ठूलो चिन्ता–
म नभएका बेला पो ‘भेडाल्याण्ड’ घोषणा गर्लान् कि !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर