newskoseli.Com

मोबाइल आयातमा पेट्रोलियमकाे भन्दा ठूलो धनराशि खर्च

कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गए पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको छ ।

मोबाइलको माग बढेका कारण सबैभन्दा बढी आयात हुने डिजेल–पेट्रोललाई उछिन्दै मोबाइलको आयात पहिलो नम्बरमा उक्लिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ७ अर्ब ९४ करोड रुपैयाँको मोबाइल आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २ अर्ब ८४ करोड रुपैयाँले बढी हो । यस अवधिमा अन्य बेला सबैभन्दा बढी आयात हुने डिजेल–पेट्रोलको आयात भने ५ अर्ब ५ करोड रुपैयाँ मात्रै रहेको छ ।

नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष एवम् सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस ग्रुपका कार्यकारी निर्देशक दिपक मल्होत्राका अनुसार लकडाउन अगाडि चोरबाटो हुँदै भित्रने मोबाइलले बजारको ४० प्रतिशत अंश ओगटेको थियो । उनका अनुसार लकडाउनले अनधिकृत आयातको बाटो रोकिँदा आयात बढेको देखिएको हो ।

चोरी पैठारीको बजार शून्यमा झरेको र लकडाउनले अनलाइन कक्षा, भर्चुअल मिटिङ र मोबाइल फोन एवम् इन्टरनेट प्रयोगकर्ता बढेकाले मोबाइल ग्याजेटको माग बढेको उनी बताउँछन् । चोरबाटो हुँदै आउने मोबाइल फोनको हिसाब गर्दा अघिल्ला वर्षहरूमा पनि करिव यही बराबरको मोबाइल आयात हुने गरेको उनको भनाइ छ । ‘सरकारले २०७५/७६ को बजेटमार्फत कर ७ प्रतिशतबाट बढाएर १६ प्रतिशतसम्म पुर्‍याएपछि चोरबाटो हुँदै भित्रने मोबाइल फोनको संख्या बढेको थियो’– उनले भने । चोरबाटोबाट मोबाइल भित्रन रोकिए चालू आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको मोबाइल फोन आयात हुने उनी बताउँछन् । गत आर्थिक वर्षमा नेपालमा १८ अर्ब रूपैयाँको मोबाइल फोन आयात भएको थियो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सुरूदेखि सुधारिँदै आएको वैदेशिक व्यापार घाटा यस वर्षको पहिलो २ महिनामा पनि १७ प्रतिशतले सुधार आएको छ । आयातमा आएको गिरावटका कारण निर्यात सामान्य बढे पनि वैदेशिक व्यापार घाटामा सुधार आएको देखिएको हो । चालू आ.व. को पहिलो २ महिनामा नेपालले १ खर्ब ७८ अर्ब रुपैयाँको सामान आयात गरेको छ, जुन गत वर्षको भन्दा २२ प्रतिशतले कम हो ।

निर्यातमा सामान्य सुधार आए पनि आयातमा आएको व्यापक गिरावटका कारण वैदेशिक व्यापार पनि २० प्रतिशतले खुम्चिएको छ । यस अवधिमा खाद्यान्न, मोबाइल फोनलगायतका वस्तुको आयात बढेको तर औद्योगिक उत्पादनमा प्रयोग हुने डिजेल, मेसिनरी सामान, पार्टपुर्जा, एमएस बिलेट, हटरोलसिटलगायतका सामग्रीको आयात घटेको खबर आइतबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर