newskoseli.Com

१२ लाखभन्दा बढी व्यक्ति चरम गरिबीमा तानिने

कोरोनाभाइरस पत्ता लागेको ९ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन् ।

संक्रमणकै कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ । महामारीले विश्वमा करोडौं व्यक्तिलाई गरिबीको रेखामुनि धकेल्दै छ । नेपालमा पनि निम्नमध्यम वर्गमा उकासिएका लाखौं नागरिकलाई पुनः निरपेक्ष गरिबीकै दलदलमा फसाउने देखिएको छ । कोरोना प्रभावित २७ मुलुकमा बीबीसीले तीन साताअघि गरेको एउटा सर्वेक्षण (पोल) ले गरिब राष्ट्रका नागरिकको आम्दानी ६९ प्रतिशत घटेको देखाएको छ ।

धनी देशका नागरिकले भने ४५ प्रतिशत मात्रै आम्दानी गुमाउनु परेको उक्त अध्ययनको निष्कर्ष छ । विश्वमा हरेक १० मध्ये ६ जना आर्थिक समस्याबाट प्रताडित रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि महिला र पिछडिएका समुदाय बढी मारमा परेका छन् । विश्व बैंकले ८ वैशाखमा प्रकाशन गरेको ‘डेटा ब्लग’ मा कोभिड– १९ का कारण विश्वमा कम्तिमा ४ करोड ९० लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिने उल्लेख थियो ।

त्यसमध्ये दक्षिण एसियामा १ करोड ६० लाख र भारतमा मात्रै १ करोड २० लाख गरिब थपिने प्रक्षेपण गरिएको थियो । विश्व बैंकले नै जेठ अन्तिममा जारी गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ प्रतिवेदनमा भने विश्वमा ७ करोड १० लाखदेखि १० करोडसम्म व्यक्ति पुनः गरिबीको चपेटामा पर्न सक्ने उल्लेख छ । २२ वर्षअघिको एसियाली वित्तीय संकटपछि पहिलो पटक यति धेरै मान्छेलाई एकसाथ गरिबीको रेखामुनि धकेल्न लागेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ ।

नेपालमा कोरोनाका कारण कुन हदमा गरिबी बढ्छ भन्ने अध्ययन भएको छैन । तर, केही आँकडाले कम्तिमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना दर्शाउँछन् । नेपाल राष्ट्र बैंकले २६ जेठदेखि १० असारबीच गरेको एउटा सर्वेक्षणले उद्योग व्यवसायमा कार्यरत कामदारमध्ये साढे २२ प्रतिशत रोजगारी कटौती भएको देखाएको छ । त्यसमध्ये पनि दुईतिहाइ कामदार दैनिक ज्यालादारी र अस्थायी तथा करार सेवामा कार्यरत रहेको उल्लेख रहेको खबर विनय बञ्जाराको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर