newskoseli.Com

‘नाइँ मलाई त्यही केटी चाहिन्छ…’ शैलीमा निर्वाचन आयोगमा ओलीको बिलौना !

फाइल तस्बिरः केहीअघि निर्वाचन आयोगमै पुगेर कानुनविपरीत आयुक्तहरुलाई ‘निर्देशन’ दिँदै प्रधानमन्त्री खड्ग ओली ।

‘नाइँ मलाई त्यही केटी चाहिन्छ…’ बोलको एउटा गीत केही वर्षअघि निकै चर्चित थियो । नेकपाबाट अलग्गिएका ओली समूहका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले यतिबेला ठ्याक्कै त्यही गीतलाई सम्झाउने व्यवहार देखाइरहेका छन् ।

विभाजित नेकपाका दुवै पक्षको दावी अस्वीकार गरेर निर्वाचन आयोगले केही अघि दुवैलाई पठाएको पत्रमा ‘दुई जना अध्यक्ष रहने र आलोपालो अध्यक्षता गर्ने अनि जसले अध्यक्षता गर्‍यो उसैको वरियता पहिलो हुने’ व्यवस्था विधानमा रहेकाले नेकपामा कोही पनि ‘पहिलो’ वा ‘एक नम्बर’ नभएको र नहुने कुरा स्पष्ट भाषामा लेखेरै दिइसकेको छ । अर्कातिर विगतदेखिका परम्परा एवं वर्तमान कानुनी व्यवस्थाअनुरूप केन्द्रीय समितिमा जसको बहुमत छ, उसैले विवादअघिको पार्टीका रूपमा मान्यता पाउने तथा अल्पमत पक्षले नयाँ दलका रूपमा दर्ता हुनुपर्ने व्यवस्था रहेको कुरा समेत आयोगले दुवै पक्षलाई पटक–पटक स्मरण गराइसकेको छ । विभाजित नेकपाको ओली पक्षमा केन्द्रीय कमिटीका करिव एक चौथाइ मात्र सदस्य र पदाधिकारी गएको, बाँकी सबै मूल पार्टीतिर रहेको कुरा स्पष्ट भैसकेको छ ।

यो स्थितिमा ओली मंगलबार निर्वाचन आयोग पुगे र आफूले अहिलेसम्म सधैं सूर्य चिह्नबाट मात्रै चुनाव लडेकाले अब पनि त्यही पाउनुपर्ने ढिपी गरे । तीन चौथाइ केन्द्रीय सदस्य र पदाधिकारीले आफूलाई पार्टीबाटै निष्काशन गरिसके तापनि ‘म नै पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य नहुने कुरै हुँदैन’ भन्दै बिलौना गरे । जबकि ओलीका यी दुवै ढिपीलाई आयोगले यसअघि नै अस्वीकार गरिसकेको छ । ओलीका यी व्यवहार निर्वाचन आयोगलाई अप्रत्यक्षरुपमा धम्क्याउने र सत्ताको आडमा प्रभावित तुल्याउने प्रयासस्वरुप भैरहेको कुरा स्वतः स्पष्ट नै छ ।

+++       +++      +++       +++

ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्नु नहुने बताएका छन् । ‘निर्वाचनको तयारी बुझ्न’ भन्दै आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन् ।

आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा उनले गरे । छलफलका क्रममा २०७५ जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेको स्मरण गराउँदै आयोगले जेठ २३ मा नै यससम्बन्धी सूचना जारी गरेको ‘स्मरण’ समेत ओलीले गराए ।

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ, पुस ५ मा मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने– ‘पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन, केही मान्छे बाहिरिएका हुन् त्यसैले अहिले आएर विवाद गर्न मिल्दैन ।’

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयबारे समेत आयोगलाई जानकारी गराएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर