
पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण इन्धन खरिदमा चर्को मूल्य तिर्न सर्वसाधारण बाध्य भएका छन् । यसले इन्धनसँग अन्तर्सम्बन्धित सबैजसो सामग्रीको भाउलाई समेत प्रत्यक्षतः प्रभावित पारेको छ ।
हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ । यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिव ५५ रुपैयाँ लिन्छ र आम नागरिकलाई ११४ रुपैयाँमा बेच्छ । ‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने– ‘यो कर हामीले लिने होइन, सरकारको खातामा जान्छ ।’
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा त्यसैअनुसार समायोजन गर्नु आफूहरूको बाध्यता रहेको निगमका अधिकारीले बताए । अहिले निरन्तर मूल्य बढिरहेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको उल्लेख रहेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।