newskoseli.Com

बैंकहरुले फागुनमै कमाए साढे ६ अर्ब नाफा (कसले कति कमाए ?)

आर्थिक वर्ष २०७७/७८ को फागुनमा मात्रै वाणिज्य बैङ्कहरूले साढे ६ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिव ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैङ्कहरू सुरक्षित अवस्थामा छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कको नाफा फागुन महिनासम्म ४१ अर्ब ९५ करोड ९० लाख २० हजार रुपियाँ पुगेको छ । माघ महिनासम्म बैङ्कहरूको यस्तो नाफा ३५ अर्ब ९५ करोड ५६ लाख ८० हजार रुपियाँ थियो ।

चालू आर्थिक वर्षको फागुनमा सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा नबिल बैङ्क सबैभन्दा माथि छ । अघिल्लो महिना तेस्रो स्थानमा रहेको सो बैङ्कले फागुनमा ३ अर्ब १२ करोड ८८ लाख २० हजार खुद नाफा कमाएर पहिलो बनेको हो । अघिल्लो महिना नबिलभन्दा माथि रहेको ग्लोबल आईएमई बैङ्क दोस्रो स्थानमा आएको छ । सो बैङ्कले फागुनमा ३ अर्ब ८ करोड ९५ लाख २० हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको तथ्याङ्क छ ।

२ अर्ब ७८ करोड २१ लाख ३० हजार रुपियाँ नाफासहित एनआईसी एसिया तेस्रो स्थानमा छ । फागुनमा २ अर्बमाथि नाफा गर्ने बैङ्कको सूचीमा एनआईसी एसियासहित प्राइम कमर्सियल, एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैङ्क रहेका छन् । प्राइमले २ अर्ब ४० करोड ४४ लाख रुपियाँ, एनएमबीले २ अर्ब १९ करोड ८२ लाख ५० हजार तथा नेपाल इन्भेस्टमेन्ट बैङ्कले २ अर्ब ४३ करोड ६ लाख ४० हजार रुपियाँ मुनाफा आर्जन गरेका छन् ।

एक अर्बमाथि नाफा आर्जन गर्ने बैङ्कहरूमा नेपाल बैङ्क, सिद्धार्थ बैङ्क, प्रभु बैङ्क, मेगा बैङ्क, सानिमा बैङ्क, कृषि विकास बैङ्क, एभरेस्ट बैङ्क, माछापुच्छ्रे बैङ्क, कुमारी बैङ्क, सिटिजन्स बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

एक अर्बभन्दा तल नाफा रहेका बैङ्कहरूमा नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क, हिमालयन बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नेपाल एसबीआई बैङ्क, बैङ्क अफ काठमाण्डू, सेन्चुरी कमर्सियल बैङ्क, सिभिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्क रहेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर