newskoseli.Com

एमाले भीडन्त : अध्यक्षमा रावल, उपाध्यक्षमा भुसाल, सचिवमा आचार्य र कार्कीको उम्मेदवारी

लामो समयदेखि आफूलाई नेकपा (एमाले) को ‘निर्विकल्प अध्यक्ष’ का रूपमा दावी गर्दै आएका खड्ग ओलीविरूद्ध अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएर चुनौती दिएका छन् । रावलको उम्मेदवारी दर्ता भएसँगै ओलीले भिरेको ‘निर्विकल्प नेता’ को पगरी गुमेको छ ।

चितवनमा जारी दसौं राष्ट्रिय महाधिवेशनको निर्धारित समय सकिइसके पनि पदीय लफडा नटुंगिएका बेला सोमबार बिहान निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावलको उम्मेदवारीलाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दूधकला बिष्टले समर्थन गरेकी छन् ।

रावलको उम्मेदवारीसँगै खड्ग ओली समेत आफ्नो उम्मेदवारी दर्ता गराउन बाध्य भएका छन् । रावलपछि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका ओलीको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

आइतबार राति अबेर खड्ग ओलीले सर्वसम्मत नामावली भन्दै आफैंलाई अध्यक्ष प्रस्ताव गरेर १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेपछि रावलले त्यसलाई अस्वीकार गरे । महाधिवेशनको उदघाटनअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका रावल सहमतिको अधिकतम प्रयासका बावजुद चुनावी मैदानमै उत्रिएका हुन् ।

ओलीले प्रस्ताव गरेको पदाधिकारीमा रावल परेका थिएनन् । रावल मात्र होइन, चर्चित नेता घनश्याम भुसाल र पूर्वी नेपालका नेता भीमप्रसाद आचार्य समेत ओलीद्वारा प्रस्तावित पदाधिकारी सूचीमा परेनन् । सोमबार बिहानै रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै भुसालले उपाध्यक्ष तथा सचिवमा आचार्य र पूर्वराजदूत टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

ओलीद्वारा प्रस्तावित पदाधिकारीहरुमा असन्तुष्टि जनाउँदै अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा आ–आफ्नै ढंगले उम्मेदवारी परेपछि यी तीन पदमा ‘सर्वसम्मति’ का निम्ति प्रस्तावित सबै नेताहरु उम्मेदवारी दिई चुनावमा होमिन बाध्य भएका छन् । सहमतिको सम्भावना टुंगिएसँगै मतदान प्रक्रिया अघि बढेको छ ।

यी खबर पनि पढ्नुहोस्–
ओलीले तोकिदिए १९ पदाधिकारी (नामावलीसहित)
को–को हुन् ओलीले तोकिदिएका ३०१ केन्द्रीय सदस्य ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर