प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनबाट पार्टीभित्र झन् शक्तिशाली बनेका छन् ।
बिहीबार सकिएको कांग्रेस १४ औं महाधिवेशनको मतगणनामा सभापति देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमतमा छन् । १३ पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक सबै देउवा पक्षका छन् ।
उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेता शेखर कोइरालानिकट हुन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने नेता प्रकाशमान सिंह प्यानलबाट लडेका थिए । शर्मा १३ औं महाधिवेशनदेखि नै देउवानिकट भए पनि महामन्त्रीमा टिकट नपाएपछि अन्तिम समयमा सिंह प्यानलबाट महामन्त्री उठेका थिए ।
एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री तथा थोरै संख्यामा केन्द्रीय सदस्य देउवाइतरका छन् । कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यमा अधिकांश नयाँ अनुहार आएका छन्। सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ छन् । देउवा समूहबाट उपसभापतिमा खड्का, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भिष्मराज आङ्दम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरीले जितेका छन् ।
यीमध्ये उमाकान्त भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । सिटौला यसपालि देउवाको समर्थनमा थिए। सिटौलाले आफूनिकट नेतालाई महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य लिएर देउवासँग सहकार्य गरे। देउवा पक्षबाट महामन्त्रीमा प्रकाशशरण महत र सिटौलानिकट प्रदीप पौडेल उठे पनि पराजित भएका थिए ।
देउवा आफैँ पहिलो चरणमा ८१ मत नपुगेर सभापति निर्वाचित भएनन् । दोस्रो चरणमा भने सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जुटाएका देउवा अर्का उम्मेदवार शेखर कोइरालालाई हराउँदै निर्वाचित भएका थिए ।
सिटौला पक्षको साथ लिँदा पहिलो चरणमै सभापति जित्ने आँकलन गरे पनि देउवाले ५० प्रतिशत मत कटाउन सकेनन् । सिटौला पक्षसँग १५० भन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको अनुमान गरे पनि त्यसअनुसार भोट नआएको देउवानिकट नेता दाबी गर्छन् ।
कांग्रेसले विधान संशोधन गर्दै यसपालि पार्टीलाई संघीय संरचनामा ढालेको थियो । समावेशी सिद्धान्तलाई ध्यान दिएर खुला र कोटाबाट केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म चुन्ने व्यवस्था गरिएको थियो ।
पदाधिकारीमा कोषाध्यक्षबाहेक १३ पद निर्वाचनबाट आएका छन् । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट अब सभापति देउवाले कोषाध्यक्ष मनोनित गर्न सक्छन् । महाधिवेशन प्रतिनिधिमध्येबाट सभापति देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पनि पाउँछन् । कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।
नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सीतादेवी यादवलगायतलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेका छन् । शीर्ष नेतालाई केन्द्रीय समितिमा राखेर कार्यसम्पादन समितिमा लैजाने तयारी देउवाको छ ।
सभापतिदेखि केन्द्रीय कार्यसमितिमा निर्वाचित सबैलाई शनिबार निर्वाचन समितिबाट निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम छ । लगत्तै सानेपामा पहिलो केन्द्रीय समिति बैठक पनि राख्ने तयारीमा देउवा छन् ।
कांग्रेसमा सभापतिपछि धेरै भूमिका महामन्त्रीलाई विधानले दिएको छ । महामन्त्रीद्वय गगन र विश्वप्रकाश देउवाइतरका छन् । महामन्त्रीमध्ये सभापति देउवाले कसलाई बढी भूमिका दिन्छन् अहिले नै खुलेको छैन । प्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वदलीय बैठकमा भने पार्टीका तर्फबाट गगनलाई बोलाएका थिए ।
१३औं महाधिवेशनदेखि नै विश्वप्रकाश पनि देउवानिकट नै थिए । उनलाई नै देउवाले प्रवक्ता नियुक्त गरे । तर यो महाधिवेशनमा देउवा टिमबाट विद्रोह गरेर विश्वप्रकाश सिंह टिममा पुगेका थिए । सभापति देउवासँग गगन र विश्वप्रकाश दुबैले सम्बन्ध मिलाउनुपर्ने देखिन्छ ।
एक उपसभापति, दुई महामन्त्री,दुई सहमहामन्त्री र करिब १५ केन्द्रीय सदस्य मात्रै आफूइतरले जितेकाले सभापति देउवालाई पार्टी सञ्चालन गर्न सजिलो छ । निर्वाचित भएका १२१ केन्द्रीय सदस्यमध्ये १०५ जनाभन्दा धेरै देउवा पक्षका छन् । देउवाले ३३ जना केन्द्रीय सदस्य अझै मनोनित गर्न सक्छन् ।
०७२ सालमा भएको १३औं महाधिवेशनमा पनि देउवा बहुमतमा थिए । तर देउवाले बहुमतको बल पार्टीमा देखाएनन्। विवाद भएका विषयमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा पूर्वपदाधिकारीलाई समेत स्थान दिएर निर्णय प्रक्रियामा सबै नेतालाई समेट्ने गरी भूमिका दिएका थिए ।
सिटौला पक्षसहित देउवाका पक्षमा १४औं महाधिवेशनबाट सहज बहुमत देखिएको छ । उनले कुनै प्रस्ताव पारित गर्नुपरे सहजै पारित गरिदिन सक्छन् । तर देउवाले पार्टीमा बहुमत र अल्पमत तथा ६०र४० अनुसार भागबन्डा गर्छन्रगर्दैनन् त्यो हेर्न केही समय कुर्नुपर्ने हुन्छ ।
सभापतिमा देउवासँग पराजित शेखर कोइरालाले आफूहरूले भागबन्डाको मागदाबी भने नगर्ने बताइसकेका छन् । यसले देउवालाई काम गर्न सहज बनाउनेछ । कोइरालाले विधानअनुसार पार्टी चलेको छ कि छैन कडाइसाथ हेर्ने चेतावनी दिइरहेका छन् ।
देउवाको अघिल्लो कार्यकाल भने विधान कार्यान्वयनमा बिर्सनलायक रह्यो । देउवाले पार्टी र भातृ संस्थाका महाधिवेशन समयमै गराउन सकेनन् । पार्टी नै अवैधानिक हुने अवस्थामा पुगेपछि मात्रै हतारहतारमा महाधिवेशन गरिएको थियो । समय अभावले गर्दा १६ वटा जिल्ला अधिवेशन र प्रदेश २ अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय नै गरिएको थियो ।
देउवाले १३औं महाधिवेशनबाट निर्वाचित भएको दुई महिनाभित्र बनाउनु पर्ने विभाग पनि कार्यकाल सकिने बेला मात्रै गठन गरे भने पौडेल पक्षबाट विभागमा प्रतिनिधित्व नै भएको थिएन । देउवालाई अब तत्काल कोषाध्यक्ष मनोनित गर्न चुनौती छ । निर्वाचित केन्द्रीय सदस्य मध्येबाट एक जना कोषाध्यक्ष बनाउन मिल्छ । सुरेन्द्रराज पाण्डे, विनोद चौधरी, उमेश श्रेष्ठलगायत कोषाध्यक्षका आकांक्षी छन् तर पदाधिकारीमा एक मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई स्थान दिनुपर्ने मागसमेत भइरहेका छन् ।
धेरै जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पकड रहेकोले देउवा झन् शक्तिशाली रूपमा कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरूवात गर्ने चरणमा छन् ।