newskoseli.Com

नागरिकको हुर्मत लिँदै राज्य : ४ घन्टा हिँडेर ४ किलो मात्रै चामल किन्न पाइने, त्यो पनि नागरिकता अनिवार्य !

नेपाल खाद्य संस्थानबाट ‘सहुलियत मूल्य’ मा बिक्री हुँदै आएको चामल किन्न हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामल किन्न नागरिकताको फोटोकपी बुझाउनुपर्ने ‘नियम’ बनाइएको हो ।

समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न किन्न यहाँका वासिन्दाले सास्ती व्यहोर्नुपरेको हो । तीन महिनासम्म चामल बिक्री बन्द गरेको खाद्य लिमिटेडको हुम्ला शाखाले शुक्रबारदेखि बिक्री थालेकामा चामलको मौज्दात कम भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । एक जनाले चामल भने चार किलो मात्रै किन्न पाउने छन् ।

खाद्य लिमिटेड हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४–४ घन्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामल पैसा तिरेर किन्न समेत नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । नागरिकताको फोटोकपी पेस नगर्दा चामल किन्न नपाइने स्थानीयवासी गणेश बोहराले बताए ।

‘यसअघि चामल किन्न वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यसपटक भने नागरिकता नै अनिवार्य गरिएको छ, नागरिकताको फोटोकपी गर्न पनि १० रुपैयाँ खर्च लाग्ने भएकाले सर्वसाधारण थप मारमा परेका छन्’– उनले भने । प्रत्येक महिना किन्न पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल किन्नबाटै वञ्चित भएका छन् ।

भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिव ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दा समेत चामल ढुवानी हुन नसकेको उनीहरूको आरोप छ । तीन महिनापछि बल्ल चामल बिक्री सुरू गरेको भए पनि उनीहरूले एक महिनाको मात्रै चामल पाएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण चामल बिक्री नभएको संस्थानले जनाएको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर