newskoseli.Com

इन्धन आजसम्मकै सबैभन्दा महँगो : ८४.३२ मा किनेर १४२ मा बिक्री, प्रतिलिटरमा ५८.४८ रूपैयाँ कर

पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३–३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४२ तथा डिजेल र मट्टीतेलको मूल्य १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्य इतिहासकै सर्वाधिक हो ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूचीअनुसार मूल्य बढेको जनाउँदै निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । २०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगेको थियो । त्यसपछि मूल्य घटेर २०७३ साउनमा प्रतिलिटर ९७ रुपैयाँसम्म झरेको थियो ।

मूल्यमा पुनः उतारचढाव हुँदै २०७६ चैतमा प्रतिलिटर ९६ रुपैयाँ पुगेको थियो । त्यसयता बढ्न थालेको मूल्य उपभोक्तालाई राहत हुने गरी घटेको छैन, बरू बढेर आजसम्मकै सबैभन्दा महँगो भई १४२ रूपैयाँ पुगेको छ ।

इन्धनमा लाग्ने करको दर भाउ घट्न नदिने मुख्य कारक हो । निगमको तथ्यांकअनुसार आईओसीबाट ८४ रुपैयाँ ३२ पैसामा खरिद गरेको पेट्रोलमा ५८ रूपैयाँ ४८ पैसा कर थपिएको छ । त्यस्तै, ८५ रुपैयाँ ४२ पैसामा खरिद गरिएको डिजेलमा ४१ रुपैयाँ १६ पैसा कर लाग्छ । त्यसमा निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम बिक्रेता खर्च–मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।

पटक–पटक कर थोपरिँदा उपभोक्तालाई थप भार परेको छ । यसमध्ये पनि १५ रुपैयाँ कर त कोभिडकालमै मात्र बढाइएको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर