newskoseli.Com

पाल्तेन आस्याङ

 

 

 

 

 

 

खुट्टाको
‘टाङ्टाङ’ गल्ने गरी
तिमीले बोकेको युगको आवाज
आज यसरी
शून्यमा बिलाउला भन्ने
कसले सोचेको थियो र पाल्तेन आस्याङ ?
हेर त
आज चुपचाप छौ तिमी
ऊ चुपचाप छ
र छ
त्यो आँधी बोकेर कुद्ने समय चुपचाप !

हिजो
तिमीले कुल्चेको
पैतालामुनिको ‘धूलो’
आज
तनतनी पिएर
तिम्रो निरिहता
अट्टाहास हाँसिरहेछ ।

तिमीले
दुस्मनको वस्तीमा
मेला लगाएको ‘खरानी’
आज
तिम्रो उपहासमा
कविता लेखिरहेछ ।

तिम्रो आदेशबेगर
नहल्लले ‘पातहरु’
आज
तिमीतिरै फर्केर
पिपिरे बजाउँदै गिज्याइरहेछन् ।

यस्तो कसरी भो’
पाल्तेन आस्याङ ??

आगो भर्भराइरहेको त्यो बाटो
बिनासपना रोजेका थिएनौ तिमीले
विश्वस्त थियौ तिमी
त्यही बाटोमा टिप्न सकिनेछ-
-एउटा झर्झराउँदो सपनाको भुङ्ग्राे
-ढल्नेछ अँध्यारोको साम्राज्य
र समयको चाल पछ्याइराख्ने
त्यो ‘लुङ्दार’ को ‘भुम्बा’ बाट
उदाउने छ
एउटा नयाँ घाम !

तिम्रो आँगनको लुङ्दारको
बादलु भुवाहरु छिचोल्दै
उडिरहेको वैपङ्खी घोडा
र, त्यसमाथि मुक्तिको सपना राखेर दौडाउने
को थिए ?
याद छ पाल्तेन आस्याङ ?

हो, उही हो
तिम्रो घाम लुकाउने मान्छे ।

तामाङ-नेपाली शब्दार्थ
टाङ्टाङ : हड्डीभित्रको मासी (बोनम्यारो)
लुङ्दार : तामाङहरुको घरअगाडि आँगनमा फहराइरहने धार्मिक महत्व बकेको झन्डा, जहाँ वैपङ्खी घोडा, कलशजस्ता चित्रहरु छापिएको हुन्छ ।
भुम्बा : कलश
आस्याङ : मामा
पाल्तेन : तामाङजातिमा प्रचलित व्यक्तिकाे नाम

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर