newskoseli.Com

बाथ रोगबाट पीडित हुनुहुन्छ ? जानिराखौं यी कुरा

बाथ रोगबारे जनचेतना फैलाउने उद्देश्यले नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुन्धारामा शनिबार एक दिने तस्बिर प्रदर्शनी आयोजना गर्याे ।

सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन गरिएको छ ।

बाथ रोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा तस्बिरमार्फत महत्वपूर्ण जानकारी हासिल गर्न सकिने अायाेजकले बताएको छ । सेन्टरले एक साताका लागि निःशुल्क रगत परीक्षण गर्ने पनि बताएको छ ।

तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा करिब ३६ लाख जनालार्ई विभिन्न प्रकारका बाथ रोग भएको जानकारी दिँदै बिरामी अझै समयमै उपचारकाे पहुँचमा  पुग्न नसकेको उल्लेख गरे ।

उनले भने— ‘‘यो तथ्याङ्कको १० प्रतिशत बिरामी मात्र उपचारको दायरामा आउन सकेका छन् । नब्बे प्रतिशत बिरामी अझै पनि उपचारको पहुँचमा आउन नसकेको अवस्था छ ।’’

बाथ रोग विशेषज्ञ डा. विनीत वैद्यले मानव शरीरको अस्थिरपञ्जरलाई अस्थिर बनाई दुखाउने रोग नै बाथ राेग भएको बताए । उनले भने—‘‘शरीरभित्रै उत्पत्ति हुने रोग भएकाले जोर्नी दुखेर र मांसपेसीका कारणले हुने बाथले छाला, आँखा, मुटु र मिर्गाैलालाई असर गर्छ । ’’

बाथ सयौँ किसिमका हुने भएकाले कुन प्रकारको बाथ हो भनी थाहा पाउन रगत परीक्षण गरी त्यसबाट हुने जटिलताबाट बच्न सकिने उनको भनाइ छ ।

बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । बालक, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने रोग दीर्घरोग हो । नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ । नेपालमा बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथ रोगको समस्या देखिएको चिकित्कको भनाइ छ ।

डा. कक्षपतिका अनुसार बाथ रोग खास गरी दुखाइबाट सुरु हुन्छ । याे राेगका कारण हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या हुने, घुँडा, कुहिनोजस्ता जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने र दुख्ने गर्छ ।

त्यसैगरी बाथका कारण छातीका करङ दुख्ने र पिसाब पोल्ने पनि हुन सक्छ । गर्भवतीलार्इ बाथ भएमा गर्भ खेर जाने हुन सक्छ । दुखाइ दोहोरिइरहने जस्ता लक्षण जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।

यस्ता समस्या देखिएपछि बाथ रोगका चिकित्सकलाई देखाउनुपर्छ । रगतको र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ । बाथ रोग पूर्ण रुपमा निको नभए पनि यसबाट अन्य समस्या नहोस् भन्नाका लागि रोकथाम गर्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर